प्रधानमन्त्री ओलीले मोदीसँग भने - अर्थपूर्ण दुईपक्षीय सहकार्यको अपेक्षा गरेका छौं
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरी अर्थपूर्ण दुईपक्षीय सहकार्यको अपेक्षा गरेको बताएका छन्।
शनिवार भारतको ७४औं स्वतन्त्रता दिवसका अवसरमा बधाई तथा शुभकामना दिन प्रधानमन्त्री ओलीले मोदीलाई टेलिफोनमार्फत कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
स्वतन्त्रता दिवसको अवसरमा छिमेकीसँगको सम्बन्धमा जोड दिने भनेर मोदीले दिएको अभिव्यक्तिको ओलीले प्रशंसा समेत गरेको र दुवै प्रधानमन्त्रीले भविष्यमा दुईपक्षीय छलफललाई जारी राख्ने कुरामा सहमति जनाएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
साथै कुराकानीमा दुवै प्रधानमन्त्रीबीच कोरोना महामारी विरुद्ध सहकार्य गरेर लड्ने सहमति समेत भएको छ। प्रधानमन्त्री ओलीले कोभिड-१९ खोपको आवश्यकतालाई औंल्याउँदै भारतलगायतका विश्वभरका वैज्ञानिकहरुले यसको विकास गर्न सक्षम हुने अपेक्षा राखेको बताएका थिए।
ओलीले संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को अस्थायी सदस्यमा भारत निर्वाचित भएकोमा पनि मोदीलाई बधाई दिएका छन्।
गएको कात्तिकमा भारतले नयाँ नक्सा जारी गरेपछि नेपाल-भारत सम्बन्धमा तिक्तता आएको थियो। त्यसपछि गएको अप्रिलमा कोभिड–१९ को रोकथामबारे दक्षिण एसियाली राष्ट्रका कार्यकारी बीच संयुक्त सम्वाद भएयता दुई प्रधानमन्त्रीबीच कुराकानी हुन सकेको थिएन।
केही दिन अगाडि प्रधानमन्त्री ओलीले एक टेलिभिजनमार्फत् सीमा समस्या कूटनैतिक माध्यमबाट हल हुने अभिव्यक्ति दिएका थिए। लिम्पियाधुरा सहितको भूमि समेटेर सरकारले नक्सा जारी गरेपछि पहिलो पटक मोदीसँग प्रधानमन्त्री ओलीले सम्वाद गरेका हुन्।