लिदी पहिरोबारे सरकारलाई कांग्रेसको प्रश्न - राज्यको व्यस्तता कि बेवास्ता ?
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाको लिदीमा गएको पहिरोबाट भएको धनजनको क्षतिमा राज्यले बेलैमा संयमता नअपनाएको विषयमा प्रश्न उठाएको छ।
शनिवार पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै "जनताको गुहारपछि सुरक्षित ठाउँमा नसारेर भएको मृत्युमा पहिरो मात्रै दोषी कि सरकार जिम्मेवार?" भनेर प्रश्न उठाएका छन्।
लिदीमा गएको पहिरोमा परेर जीवन गुमाएकालाई श्रद्धाञ्जली र बाँचेकालाई उपचार र राहतको व्यवस्था गरिरहँदा घटनासँग गाँसिएको गम्भीर प्रश्नबारे बहस गर्नुपर्ने आवश्यकता नेपाली कांग्रेसले औंल्याएको छ।
जुगल गापाको वडा नं २ का लिदी, नाम्फा, सानोनाम्फा, निम्लुङ, संच गाउँ आदि वस्तीहरुका जनताले पहिरोको जोखिम बुझेर करीब दश दिनअघि सरकार गुहारेर निवेदन दिए पनि जीवन जोगाउन सरकार नपुग्दा अहिले यति ठूलो क्षति भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
"यतिबेला सिंगो देशको ध्यान पहिरोले गरेको जनधनको क्षतिउपर केन्द्रित हुनु स्वाभाविक हो तर पहिरोमा जसले जीवन गुमाए तिनले अघिल्लो सातादेखि नै पहिरोको जोखिमबाट जोगाउन सरकारलाई गुहार्नु तर सरकारको कुनै निकायले पनि त्यहाँका जनतालाई सुरक्षित स्थानमा सारेर तिनलाई जोगाउने दायित्व निर्वाह नगर्नु सामान्य हेलचेक्र्याईं मात्रै होइन राज्यको अक्षम्य गल्ती हो," विज्ञप्तिमा भनिएको छ।
प्राकृतिक विपत्ति तत्कालै रोक्ने सामथ्र्य सरकारसँग नहुने भए पनि जोखिमको पूर्व सूचना पाएपछि आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सार्ने कर्तव्य राज्यको हुने कांग्रेसको भनाइ छ।
"जनताले लिखित रूपमा सरकारलाई गुहार गर्दा पनि सुरक्षित स्थानमा सारेर अमूल्य जीवन जोगाउन सरकार किन गम्भीर भएन? लिदीवासीका लागि देशमा सरकार हुनुको अर्थ के रह्यो?," कांग्रेसले प्रश्न गरेको छ, "जनताको जीवन प्रति राज्यको चरम बेवास्ताको यो भन्दा ठूलो उदाहरण अर्को के हुनसक्छ?"
कोरोनाको महामारीसँग जुध्न असफल भइरहेको सरकार सिन्धुपाल्चोकको घटना पश्चात् शासकीय योग्यता र सार्थक अस्तित्वको शून्यतामा पुगेको आरोप कांग्रेसको छ।
"कोरोनाको बढ्दो आक्रामकता र देशका विभिन्न स्थानमा बाढी पहिरोको निर्मम चोटप्रति गम्भीर तदारुकता साथ कार्य गर्न नेपाली कांग्रेस फेरि पनि नेकपाको सरकारसँगै तीनै तहका सरकारहरुलाई अपिल गर्दछ," विज्ञप्तिमा उल्लेख गरिएको छ।