अरु तीन दिन देशभर वर्षा हुने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अरु तीन दिन देशको अधिकांश भूभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेकाले तीन दिन देशभर वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए। “उक्त रेखा नेपालको पश्चिमी भूभाग नजीक रहेकाले पश्चिममा वर्षाको सम्भावना बढी छ”, मौसमविद् प्रधानाङ्गले भने।
आज, आइतबार र सोमबार देशभर वर्षा हुनेछ। अहिले सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै बागमती, गण्डकी, प्रदेश नं ५ सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २०.५ र अधिकतम तापक्रम ३१.४ डिग्री सेल्सियस रहने छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६.७ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३६.४ डिग्री सेल्सियस रहने छ।