स्थायी रुपमै बन्द हुनथाले काठमाडौंका होस्टल
सुवास कोइरालाले काठमाडौँमा तीन वटा ‘बोइज होस्टल’ चलाएका थिए। तीमध्ये दुई वटा स्थायी रुपमा बन्द गरिसके। विद्यार्थी आएपछि राख्न एउटा भने सञ्चालन गर्ने सोचमा छन्।
बस्ने मान्छे नै नभएपछि महँगो भाडा तिरेर राख्नुको औचित्य नभएर बन्द गरेको उनी बताउँछन्। “कोरोना भाइरस महामारीको कारण सबै अस्तव्यस्त भयो, अहिले त म होस्टल व्यवसायी हुँ भन्न सक्ने अवस्था नै छैन”, उनी भन्छन्।
बन्दाबन्दीअघि नै कोरोनाभाइरस संक्रमण फैलन सक्ने भन्दै होस्टल एसोसिएसनले केही समय होस्टल बन्द गर्न आग्रह गरेको थियो। त्यसलगत्तै बन्दाबन्दी शुरु भयो। काठमाडौँका ९८ प्रतिशत होस्टल बन्द भए।
करीब दुई प्रतिशत होस्टलमा भने कामकाजी व्यक्ति बसिरहेका थिए। केही समयका लागि भनेर बन्द गरिएका होस्टल कोरोनाभाइरस संक्रमित र मृतकको संख्या बढ्न थालेपछि कहिले खुल्ने निश्चित छैन।
काठमाडौँमा विद्यार्थी र कामकाजीहरुका लागि खुलेका होस्टल अहिले संकटमा परेका छन्। होस्टल बन्द गरेर भाडा मात्रै तिरिरहनुपरेपछि कतिपयले स्थायी रुपमै पेशा छाडेका छन्।
उपत्यकामा एसोसिएसनमा आबद्ध एक हजार २०० र आबद्ध नभएकाहरु करीब ३०० छन्। यस्ता होस्टलमा बस्ने कामकाजीभन्दा विद्यार्थी धेरै छन्। सामान्य अवस्था आएपछि खुल्ने भनिएका होस्टलबाट गएका अधिकांश विद्यार्थी अब तत्काल नफर्किने भएपछि व्यवसायीहरुलाई समस्या पर्न थालेको हो।
पुनम थपलियाले पनि डिल्लीबजारस्थित आफ्नो 'गर्ल्स होस्टल' बन्द गरिसकिन्। २०७१ सालबाट सञ्चालन भइरहेको होस्टल असारबाट स्थायी रुपमै बन्द गरेको उनी बताउँछिन्। ३४ जना क्षमता रहेको उक्त होस्टलमा बन्द हुनअघिसम्म १९ जना थिए।
लामो समय बन्द गर्नुपर्दा महँगो घरभाडाका कारण होस्टल स्थायीरुपमै बन्द गर्नुपर्ने बाध्यता हुन थालेको होस्टल एसोसिएसनका अध्यक्ष पाठक बताउँछन्। पुरुष र महिला दुवैका लागि होस्टल चलाइरहेका पाठकले पनि बन्दाबन्दी हुनुअघि केही समयका लागी बन्द गरेका थिए। उनको होस्टलबाट ४० प्रतिशत विद्यार्थी मात्रै फेरि आउने शर्तमा घर गएका छन्।
पुनम थपलियाले पनि डिल्लीबजारस्थित आफ्नो 'गर्ल्स होस्टल' बन्द गरिसकिन्। २०७१ सालबाट सञ्चालन भइरहेको होस्टल असारबाट स्थायी रुपमै बन्द गरेको उनी बताउँछिन्।
३४ जना क्षमता रहेको उक्त होस्टलमा बन्द हुनुअघिसम्म १९ जना थिए। बन्दाबन्दी हुने भएपछि कतिपयले सामान नै लिएर गएको र कतिपय चाहि छोडेर गएका थिए। होस्टल बन्द गरेपछि ती सामान आफूहरुले नै सुरक्षित राखिदिएको थपलिया बताउँछिन्।
अब सामान्य अवस्था भएपछि पनि व्यवसाय फस्टाउने नदेखेपछि बन्द गरेको उनको भनाइ छ। “अहिले अवस्था झनै डरलाग्दो हुँदै गएको छ। अब कहिले सामान्य हुने टुंगो छैन। महँगो भाडा तिरेर राख्नुभन्दा बन्दै गर्नु उचित लाग्यो”, उनी भन्छिन्।
होस्टल एसोसिएसन काठमाडौंकी अध्यक्ष सुनिता लाकौल घर भाडा तिर्न नसकेरै धेरै होस्टल बन्द भएका बताउँछिन्। दुई, तीनवटा होस्टल चलाइरहेकाहरुले एउटा मात्रै चलाउन थालेका छन्। लाकौलले पनि दुई वटामध्ये एउटा बन्द गरिसकेकी छिन्। उनी भन्छिन्, “बस्ने भनेको विद्यार्थीहरु हुन्। सबै घर गए। एउटा बन्द गरेका छौँ। अर्कोमा आफै बस्ने भएकाले परिवार र स्टाफहरु मात्रै छौं।”
कुपन्डोलको ज्वागलस्थित सहारा होस्टलमा १८ मध्ये ६ जना मात्रै छन्। बन्दाबन्दीको कारण ५ जनाले होस्टल छोडिसकेका छन् । होस्टेल वार्डेन बिना लामा “सधै खाली नहुने होस्टल अहिले अब पूरै खाली होला जस्तो छ ।” शैक्षिक संस्था बन्द हुँदा विद्यार्थीहरु होस्टल छोड्दै गइरहेको उनले बताइन् ।
भिष्मा अधिकारीको अनामनगरस्थित कालिन्चोक गर्ल्स होस्टलमा अहिले पाँच जना मात्रै छन्। बन्दाबन्दीअघि ३५ जना थिए। होस्टलमा अधिकांश विद्यार्थी छन्।
बन्दाबन्दी हुने भएपछि १५ जनाले होस्टल छाडेका थिए। बाँकीले भने १ भदौमा लामो दूरीका यातायात खुलेपछि आउने जानकारी दिएका थिए। तर, कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै लामो दूरीका यातायात खुल्ने अनिश्चित भएपछि उनीहरु पनि नआउने भएका छन्।
भिष्मा अधिकारीको अनामनगरस्थित कालिन्चोक गर्ल्स होस्टलमा अहिले पाँच जना मात्रै छन्। बन्दाबन्दीअघि ३५ जना थिए। होस्टलमा अधिकांश विद्यार्थी छन्।
अधिकारीका अनुसार बसिरहेकाहरुबाट पूरै शूल्क लिए पनि घर गएकाहरुलाई ७० प्रतिशत छुट दिइएको छ। घरबेटीले भाडा छुट दिने भएपछि आफूले पनि छुट दिएको उनी बताउँछिन्।
अधिकारीले तीन वर्षअघि मात्रै होस्टल शुरु गरेकी हुन्। तर, कोरोनाभाइरस महामारीले अत्यन्तै अप्ठ्यारो अवस्था सिर्जना गरेको उनी बताउँछिन्। “सबै जना हुनुभएको भए व्यवसायमा घाटा हुँदैनथ्यो तर, संक्रमित हुने जोखिम हुन्थ्यो। ३५ जना नै हुँदा व्यवस्थापन गर्न गाह्रै हुन्थ्यो नि”, उनी भन्छिन्।
उपत्यकामा संक्रमितको संख्या बढ्दै जाँदा होस्टलमा थप सतर्कता अपनाइएको उनको भनाइ छ। अन्य होस्टलहरु बन्द हुँदै गर्दा उनी भने अबको एक वर्ष बन्द नगर्ने सोचमा छिन्। उनी भन्छिन्, “त्यत्रो लगानीबाट शुरु गरेको व्यवसायबाट आधा पनि उठेको छैन। अबको एक वर्ष त हेर्ने विचारमा छु।”
ओम गर्ल्स होस्टल, शंखमूलमा अहिले एक जना मात्रै छिन्। ३० जना क्षमताको होस्टलमा अधिकांश विद्यार्थी थिए। केही विद्यार्थी पढाइ सकेर घर गएका थिए। केही बन्दाबन्दी खुलेपछि फर्केर आउने योजनामा थिए। कामकाजी केही भने होस्टलमा नै थिए। तर, अनलाइनबाट काम गर्न मिल्ने भएपछि एक जनाबाहेक सबैले होस्टल छाडेको संचालक अल्पना कर्माचार्य बताउँछिन्।
घर भाडामा लिएर होस्टल चलाएकी कर्माचार्यलाई घरबेटीले बन्दाबन्दी अवधिभरको २५ प्रतिशत भाडा छुट दिएका छन्। उनले पनि घर गएकाहरुलाई ५० प्रतिशत शुल्क छुट दिएकी छिन्। बसेकाबाट भने पूरै शूल्क लिएकी छिन्।