दोलखामा आजदेखि एक हप्ता बन्दाबन्दी
दोलखा जिल्लामा आजदेखि एक हप्ता बन्दाबन्दी जारी गरिएको छ। केही स्थानीय तहमा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरु देखिएकाले थप संक्रमण फैलिन नदिन जिल्लाभर बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय भएको सूचना जिल्ला प्रशासन कार्यालयले शुक्रबार जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जारी गरेको सूचनामा भनिएको छ, “जिल्लाका केही स्थानीय तहमा संक्रमण पुष्टि भएका व्यक्तिहरु भएकाले थप फैलिन नदिन र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन जिल्लाभर ३१ साउन बिहान ६ बजेदेखि ६ भदौ, राती १२ बजेसम्म तोकिएका सेवा तथा गतिविधि पूर्ण निषेध गरिएको छ।” अत्यावश्यक बाहेक घर बाहिर निस्कन तथा हिंडडुल गर्न पूर्ण रुपमा निषेध गरिएको सूचनामा उल्लेख छ।
त्यसैगरी अत्यावश्यक बाहेक सबै कार्यालयहरु बन्द गरिएका छन्। अत्यावश्यक बाहेकका सवारी साधनमा पनि रोक लगाइएको छ। तरकारी, खाद्यान्न, दुग्ध पदार्थका पसल बिहान १० बजेसम्म खुल्ने तर, अन्य जुनसुकै पसलहरु पूर्णरुपमा बन्द गरिएको सूचनामा उल्लेख छ।
हिजो जिल्लाको गौरीशंकर गाउँपालिकामा चिकित्सक, गाउँपालिकाका तथा बैंकका कर्मचारीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।