तमोर र नारायणीको जलसतह खतराको विन्दु नजिक, बबईको जलाधार क्षेत्रमा समेत भारी वर्षा
पूर्वको तमोर र मध्य नेपालको नारायणी नदीका जलाधार क्षेत्रमा भएको अति भारी वर्षाले ती नदीको जल सतहले सतर्कता तह पार गरेको छ। धनकुटाको मूलघाट क्षेत्रमा तमोरको जलसतह खतराको विन्दु नजिक पुगेको छ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान केन्द्रले तमोर नदीको जलसतह खतरा तहसम्म पुग्नसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ। धनकुटाको मूलघाटदेखि सप्तकोशी दोभान क्षेत्रसम्मको तटीय क्षेत्रमा दिउँसोसम्म सतर्कता अपनाउन आग्रह गरिएको हो। मूलघाटमा तमोर नदी ६.७४ मीटर पुगेको छ।
उक्त स्थानमा नदीमा पानीको सतह ६ मीटरभन्दा माथि पुग्नुलाई सतर्कता तह पार गरेको मानिन्छ। सात मीटर पार गरे खतराको सूचना जारी गरिन्छ।
नारायणी नदीले समेत सतर्कता तह पार गरेको छ। देवघाटमा रहेको बाढी मापन केन्द्रको रेकर्ड अनुसार अहिले नारायणी नदीमा पानीको तह ७.३१ मीटर छ। त्यसैगरी नारायणी पुलमा ११.१ मीटर पुगेको छ ।
देवघाटमा ७ मीटर र नारायणघाट पुलमा ११ मीटर पार गरेपछि सतर्कताको साइरन बज्छ। नारायणी र तमोर नदीमा पानीको सतह बढ्ने क्रम जारी छ।
गएराति देशका अन्य भूभागमा पनि भारी वर्षा भएको छ। लमजुंगको बेसीसहरमा हिजो साँझ ६ बजेदेखि आज बिहान ६ बजेसम्म १३७.२ मिलिमिटर वर्षा भएको छ। त्यसैगरी कास्कीमा पनि १२ घण्टामा ८२.६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
त्यसैगरी प्रदेश नम्बर ५ अन्तर्गत पर्ने बबई नदीको जलाधार गुलरिया, रानी जरुवा, रम्मुवापुर लगायतका स्थानमा पनि भारी वर्षा भएको छ। रम्मुवापुरमा पछिल्लो ६ घण्टामा ६६ मिलिमिटर वर्षा भएको छ। रानी जरुवामा १२ घण्टामा ९१.२ मिलिमिटर वर्षा मापन गरिएको छ।