हजारौँलाई क्वारेन्टिनमा राखेको शहरबाट उत्तर कोरियाले हटायो बन्दाबन्दी
उत्तर कोरियाली शासक किम जोङ उनले दक्षिण कोरियाको सीमामा पर्ने शहर काएसोङमा लगाएको बन्दाबन्दी हटाएको घोषणा गरेका छन्। दक्षिण कोरियाबाट भागेर आएका एक जना संक्रमित भएको हुनसक्ने आशंकामा तीन हप्ताअघि उक्त शहर ‘लकडाउन’ गरिएको थियौँ।
लकडाउन घोषणापछि शहर नै सिल गरेर सरकारले हजारौँ नागरिकलाई क्वारेन्टिनमा राखेको थियो। बिहीबार भएको सत्तारुढ पार्टीको बैठकमा किमले सीमा बन्द नै राख्ने र कोरोनाभाइरस विरुद्धको अभियानमा कुनै पनि बाह्य सहयोग नलिने बताएका छन् ।
बिहीबारको बैठकमा तीन हप्ताको ‘आइसोलेसन’ पछि कोरोनाभाइरस संक्रमणको डर कम भएको वैज्ञानिक रुपमा नै पुष्टि भएको बताएका थिए । उनले स्थानीयलाई पनि ‘लकडाउन’ का लागि सहयोग गरेको भन्दै धन्यवाद दिएको राष्ट्रिय सञ्चारमाध्यम कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले जनाएको छ।
पार्टी बैठकमा भारी वर्षापछि आएको बाढीले क्षति गरेका हजारौँ घर, सडक र पुल बनाउन पनि बाह्य सहयोग नलिइने किमले बताएका छन्। बाढीबाट घरबारबिहीन भएकालाई सरकारले अस्थायी बासस्थानको व्यवस्था गरेको जनाइएको छ।
केसीएनएलाई उधृत गर्दै अलजजिराले जनाए अनुसार किमले नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । उनले किम जाए ¥योङलाई हटाएर किम टोक हुनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।