मेसी, स्वारेज, ग्रिजम्यानसहित स्टार स्ट्राइकरको टीम बार्सिलोनाविरुद्ध बायर्नले रच्याे कीर्तिमान
यूरोपकै बलियो टीम बार्सिलोना शुक्रबार राति ६९ वर्ष पछाडि फराकिलो गोल अन्तरले पराजित भएको छ। च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलमा बार्यनसँग बार्सिलोना ६ गोल अन्तरले पराजित भएको हो।
८–२ गोल अन्तरले बार्सिलोना पराजित हुँदा एक गोल बार्यनबाटै उपहार पाएको थियो। सन् १९५१ मा बार्सिलोना स्पान्योलसँग ६–० गोल अन्तरले पराजित भएको थियो। तर, त्यो लिग म्याच थियो। त्यस यता बार्सिलोनाले यति ठूलो गोल अन्तरले पराजित हुनु परेको थिएन।
तर, च्याम्पियन्स लिगको पाँच पटकका बिजेता बार्सिलोनाले कीर्तिमानी हार खेप्नुपर्यो। जर्मन टीम बार्यनले भने कीर्तिमानी जित निकाल्यो। च्याम्पिन्यस लिगको नकआउट चरणमा एउटै खेलमा आठ गोल गर्ने बार्यन पहिलो क्लब बनेको छ। यसअघि अन्तिम १६ मा रियल मड्रिडले एउटै खेलमा नौ गोल गरेको थियो।
सन् १९९०/९१ को सिजनमा मड्रिडले अन्तिम १६ को खेलमा ९–१ गोल अन्तरको जित निकालेको थियो। विश्व स्टार स्ट्राइकर लियोनल मेसी, लुइस स्वारेज, ग्रिजम्यान र उदाउदो स्टार आन्सु गरी चार स्ट्राइकर मैदानमा उत्रदा पनि बार्सिलोना लज्जास्पद पराजय सहित लिगबाट बाहिरिएको छ।
बलियो लयमा रहेको बार्यनले भने १२औं पटक सेमिफाइनल पुग्ने टीमसमेत बनेको छ। बार्यनभन्दा बढी रियल मड्रिड १३औं पटक सेमिफाइनल पुगेको छ। बार्सिलोना विरुद्ध एक गोल गरेका बार्यनका स्ट्राइकर लेवान्डोस्कीले यो सिजनमा सबैभन्दा बढी गोल गर्ने खेलाडीका रुपमा आफूलाई अगाडि समेत बढाएका छन्। उनले दुई पेनाल्टीसहित १४ गोल गरिसकेका छन्।
बार्सिलोनाको लज्जास्पद पराजयमा बार्यनका लागि थोमस मुलर र फिलिप्पे कोटिन्होले दुई–दुई गोल गरे। इभान पेरिसिक, नाब्री, जोसु किमिच र लेवान्डोस्कीले एक–एक गोल गरे भने बार्सिलोनाका लागि स्वारेजले गोल गरे।
अब शनिबार राति क्वाटर फाइनलको अन्तिम खेल लियोन र म्यानचेस्टर सिटी बीच हुनेछ। जित्ने टीमसँग फाइनलका लागि बार्यनले खेल्नेछ।