आज पहिरोमा पुरिएका लिदीवासीले वस्ती सारिदिन एक हप्ता पहिल्यै दिएका थिए यस्तो निवेदन
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ स्थित लिदीमा पहिरोले पुरिएर ३८ जनामध्ये साँझसम्म ११ जनाको शव निकालिएको छ।
पहिरो गएको स्थान लिदीको वस्ती स्थानान्तरण गर्नुपर्ने भन्दै वडाका जनप्रतिनिधिले एक हप्ताअघि (२३ साउनमा) नै निवेदन दिएका थिए।
लिखित निवेदन लिएर पुगेका पहिरो प्रभावित क्षेत्र वडा नम्बर २ का जनप्रतिनिधिसँग त्यतिबेला प्रमुख जिल्ला अधिकारीले भूगर्भविद्हरुलाई ल्याएर जोखिम मूल्यांकन गर्ने भनेका थिए।
यो पनि:
निवेदन लिएर वडा सदस्य तथा वडाध्यक्षहरू जिल्ला विपद् व्यवस्थापन समितिको कार्यालयमा पुगेका थिए । वडाध्यक्ष प्रताप लामा भन्छन्, “निवेदन गाउँपालिकालाई पनि दिएको जिल्लामा पनि दिएको, सिडियोले भूगर्भविद् ल्याएर देखाउने भन्नुभएको थियो, आज बिहान साढे ६ बजे झ्याप्पै छोप्यो।”
"जोखिमका कारण लिदीवासी राति घरमा सुत्दैनथे, अलि टाढा सुरक्षित ठाउँमा सुत्ने उनीहरू बिहान घरमा आएका बेला साढे ६ बजेतिर पहिरो आयो," उनले भने ।
वडाध्यक्ष प्रताप लामा जिल्लामा निवेदन दिएर सिडिओलाई नै भेटेको र साउने झरीमा जोगाइदिन पहल गरेको भए दुर्घटना नहुने बताउँछन् ।
९ वर्षमा १७७ बेपत्ता
सिन्धुपाल्चोक जिल्लामा २०६८ सालदेखि आजसम्म ६२ वटा पहिरोको घटना भएको छ। यस घटनाबाट ८० जनाको मृत्यु भएको छ भने १७७ जना बेपत्ता भएका छन्।
गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको रकेर्ड अनुसार १ वैशाख २०६८ देखि आजसम्म भएका पहिरोका घटनाबाट २१८ घरमा पूर्ण क्षति भएको छ। कून अनुमानित क्षति सवा तीन करोड भन्दा बढी भएको पनि केन्द्रले जनाएको छ।
भूगर्भविद्हरुले सिन्धुपाल्चोक जिल्लाको अधिकांश भूभाग पहिरोको सबैभन्दा बढी जोखिममा रहेको भन्दै आएका छन्। २०७२ सालको भूकम्पबाट अति प्रभावित १४ जिल्लामा पहिरोको जोखिमबारे राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बेलायतको डुर्हाम विश्वविद्यालयसँगको सहकार्यमा गरेको अध्ययनले पनि १४ जिल्ला मध्ये सिन्धुपाल्चोक पहिरोको सबैभन्दा बढी जोखिममा रहेको देखाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।