जीवित छँदै 'दिवंगत राष्ट्रपति'
२०२५ साल (सन् १९६८) तिरको कुरा हो, भारतका तत्कालीन राष्ट्रपति जाकिर हुसेन खान नेपालको राजकीय भ्रमणमा आएका थिए। उनी मुसलमान भएकाले पशुपतिनाथ मन्दिर, मुक्तिनाथ, जनकपुर, लुम्बिनी जाने कुरो भएन। काठमाडौं बाहिर पोखरा जाने कार्यक्रम राखिएछ।
जाकिर पोखरा गएपछि गर्ने भाषण तयार भइसकेको थियो। फलानो मितिमा यति बजे अगाडि भाषण प्रचारप्रसार नगर्नू भन्ने (इम्बार्गो) सहितको भाषण गोरखापत्र लाई प्राप्त भएको रहेछ। फलस्वरूप जाकिर पोखरा जाने तय भएको दिन त्यो भाषण गोरखापत्र मा छापियो।
भैरव रिसाल
तर, मौसम खराब भएकाले जाकिरको पोखरा भ्रमण भएनछ। त्यतातिर गोरखापत्र ले ख्याल गरेनछ। त्यसले गाल पर्ने नै भयो।
पोखराको त्यो भाषणमा माछापुच्छ्रे हिमाल, फेवाताल, आदिको अनुपम सौन्दर्य, लालिमा आदि वर्णनको सन्दर्भमा ‘मैले मेरा दुइटै आँखाले देखेकी जाज्वल्यमान सौन्दर्यकी साक्षात् जीवन्त मूर्ति जस्तै लाग्यो’ भन्ने आशयको अंश पनि छापिएछ।
खास कुरा त, जाकिर हुसेनको एउटा आँखा बिग्रेको रहेछ। एउटा आँखाले मात्र देख्दा रहेछन्। तर, भाषणमा ‘दुइटै आँखाले देखेकी....’ भन्ने पदावली थियो। यसले राष्ट्रपतिको अपमान भो भन्ने व्याख्या भएछ। भारतका तेस्रो राष्ट्रपति (कार्यकाल १९६७ मे – १९६९ मे) थिए, उनी।
त्यो भाषणको मस्यौदा भारतीय राजदूतावास वा विदेश मन्त्रालय कसले गरेका थिए, त्यो थाहा भएन। तर, उनले गर्दै नगरेको भाषण छापियो, नगएको ठाउँ गए भन्ने छापियो। अर्को, दुई आँखाको सन्दर्भ भाषणमा पर्नु अर्को त्रुटि थियो। साह्रै भावुक भएर भाषणको मस्यौदा गर्दा त्यस्तो हुन गएको होला।
एउटा अक्षर उछिट्टिंदा अवगाल !
हुसेनकै बारेमा द राइजिङ नेपाल मा ‘राष्ट्रपतिले त्यसपछि फलानो काम गरे’ भन्ने आशयको समाचार छापिंदा अनर्थ लाग्ने गरी आएछ। त्यो जमाना लेटर प्रेसको थियो। एउटा–एउटा अक्षर ब्लकमा राखेर छापाखानाले छाप्नुपर्थ्यो।
‘त्यसपछि राष्ट्रपति....’ भन्ने प्रसंगमा वाक्यमा लेटर (Later) भनेर छापिनुपर्नेमा केही प्रति छापिएपछि लेटर शब्दको ‘आर’ अक्षर नै उछिट्टिएछ र 'लेट' अर्थात् दिवंगत राष्ट्रपति भन्ने छापिएर आएछ। त्यही रूपमा अखबार पाठककहाँ बाँडियो। मित्रराष्ट्रका महामहिम राष्ट्रपतिबारेको समाचारमा भयानक गल्ती थियो त्यो। भारतीय पक्ष कति रुष्ट भयो होला!
तिनताका नेपालमा सूचना तथा सञ्चार मन्त्रालयका सचिव रामबहादुर रावल थिए। त्यो पूरै सम्झना छ मलाई। म कुनै कामको सिलसिलामा सञ्चार सचिव रावलको कार्यकक्षमा पुगेको थिएँ। उहाँ त आगो भएर बस्नुभएको रहेछ। मलाई देख्ने बित्तिकै रिस पोखिहाल्नुभो, ‘म को हुँ, चिनेको छ ?’
मैले कत्ति नहडबडाई सरल मिजासमा भनें, ‘तपाईं सूचना र सञ्चार सचिव रामबहादुर रावल।’
रावलजीले त्यो ‘आर’ अक्षर उछिट्टिएर छापिएको द राइजिङ नेपाल देखाउनुभो। उहाँ त मलाई गोरखापत्र को मान्छे भन्ठानेर झम्टिनुभएको रहेछ। म जिल्ल परें। म त त्यसवेला राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत थिएँ।
आफू त्यस विषयसँग सम्बन्धित मान्छे नभएको भन्दै मैले स्पष्ट पार्न खोजें। तर, निकै आवेगमा रहेका रावलजी एकोहोरो पड्किरहनुभएको थियो, मलाई बोल्नै नदिने।
केही बेरमा अलि ठण्डा हुनुभो र मैले यथार्थ कुरा बुझाउन पाएँ। त्यसपछि मैले राहत पाएर उम्किएँ।
याे पनि पढ्नुहाेस् – पञ्चायतकालमा राजाको भाषण काटकुट पार्दा