लिदी पहिरो: राति डाँडामा सुत्थे, बिहान घर गएका थिए, त्यहीं पुरिए
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी पहिरोमा पुरिने मध्ये शुक्रबार दिउँसो तीन बजेसम्म आठ जनाको शव फेला परिसकेको छ। तर, कसैको पनि पहिचान हुनसकेको छैन।
“उद्धार कार्य जारी छ, तर विकट क्षेत्र भएकाले कठिनाइ भइरहेको छ”, जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले भने। पाँच जनाको उद्धार गरिएको छ। उद्धार गरिएकाहरुलाई उपचारका लागि अस्पताल लगिएको अध्यक्ष श्रेष्ठले बताए। चार जनाको चौतारामा र एक जनाको काठमाडौंको सिभिल अस्पतालमा उपचार भइरहेको छ।
बेपत्ता हुनेहरुको नामावली भने स्थानीयको सहयोगमा संकलन गरिएको छ। पहिरोमा ३८ जना बेपत्ता भएको अनुमान गरिएको छ। “पहिरोमा पुरिनेहरू लिदीका मात्रै छैनन्, बाटो हिड्ने अन्य गाउँका समेत परेको अनुमान गरिएको छ”, उनले भने। तर, पहिराेबाट पुगेकाे क्षतिकाे विवरण आउन बाँकी नै रहेकाे सिन्धुपाल्चाेकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए। "उद्धार टाेली परिचालन गरिएकाे छ। मानवीय क्षतिबारे पूरा जानकारी आउन सकेकाे छैन", खनालले भने।
गएको २६ साउनको वर्षामा लिदी बस्ती माथिको डाँडा भासिएको र चिराचिरा भएको थियो। “हामीले त्यहाँ नबस्न भनेका थियौं, खाद्यान्न र त्रिपाल समेत पठाएका थियौं”, गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङ भन्छिन्। गाउँपालिकाको निर्देशन पछाडि लिदी बस्तीका समुदाय नजिकै रहेको डाँडामा त्रिपाल टाँगेर सुत्ने गरेका थिए।
रातभर त्रिपालमा सुत्ने गरे पनि दिनमा भने मेलापात र गाइवस्तु हेर्न गाउँ जाने गरेका थिए। “पहिरोले थिलथिलो बनाएकाले त्यो गाउँकाहरु राति डाँडामा गएर सुत्थे, राति पहिरो गएको भए यस्तो हुने थिएन”, तामाङ भन्छिन्।
तर, शुक्रबार बिहान ६ बजेतिर पहिरो गयो। पहिरोले ३७ घरपरिवारमा क्षति पुगेको छ। “पानी नपरेकाले बिहानै घरतिर जानेहरु पहिरोमा पुरिए”, उनी भन्छिन्। तर, त्रिपालमै बसेकाहरु भने बचेका छन्। गाउँपालिका अध्यक्ष श्रेष्ठका अनुसार, पहिरोमा पुरिएका ३७ परिवारका झण्डै डेढ सय बढी जनसंख्या छन्।
रातभर त्रिपालमा सुत्ने गरे पनि दिउँसो भने मेलापात र गाइवस्तु हेर्न गाउँ जाने गरेका थिए। “पहिरोले थिलथिलो बनाएकाले त्यो गाउँकाहरु राति डाँडामा गएर सुत्थे, राति पहिरो गएको भए यस्तो हुने थिएन”, तामाङ भन्छिन्।
सदरमुकाम चौतारादेखि पैदल चार घण्टा हिडेपछि पुगिने लिदी जिल्लाकै दुर्गम मध्ये एक गाउँ हो। त्यहाँ, चार महीना अगाडि मात्रै बिजुली र सडक पुगेको थियो। “प्रदेश सरकारले दिएको ३० लाखमा बिजुली भर्खरै त्यहाँ लगिएको हो”, सिन्धुपाल्चोक नेकपाका नेता सरेश नेपाल भन्छन्। त्यहाँ, बिजुली सँगै सडक पनि लगियो।
तर, वर्षाको पानीले सडक भत्काएले अहिले गाडी जाँदैन। “लिदी पुरै तामाङ वस्ती हो, केही घरपरिवार दलित छन्”, नेपाल भन्छन्।
हत्तपत्त प्रशासन र राजनीतिक दलका नेताहरू समेत नपुग्ने लिदी वस्तीलाई २०७२ को भूकम्पले पनि क्षति गरेको थियो। तर, ठूलो क्षति थिएन। सिन्धुपाल्चोककै बाह्रबिसेमा ठूलो पहिरो जाँदा भने लिदी माथिको डाँडा भासिएको थियो।
एक महीना अघिको अविरल वर्षाका कारण जमिन भाँसिएपछि त्यहाँका स्थानीयले बस्ती स्थान्तरणका लागि प्रमुख जिल्ला अधिकारी नेतृत्वको बिपद व्यवस्थापन समितिलाई समेत गुहारेका थिए। २३ साउनमा मात्रै त्यहाँका स्थानीयले पाँच सय परिवार जोखममा रहेको व्यहोरा सहित निवेदन दिएका थिए।
स्थानीयले दिएको निवेदनमा बस्ती मुनिको ब्रम्हयानी नदीमा निर्माणाधीन बलेफी ए हाइड्रोपावरको सुरुङ निर्माणका क्रममा ब्लास्टिङ गरेर बस्ती जोखिममा पारिदिएको उल्लेख गरेका थिए। निवेदनमा लेखिएको छ, “...बिस्फोटक कार्यका कारण बस्ती नै कम्पित हुने अवस्था सिर्जना भएको र यसरी हल्लिएर आन्तरिक रुपमा क्षतविक्षत भएको जमिन अविरल वर्षाका कारण पहिरोमा रुपान्तरित भई हाम्रो यस भेगका नाम्फा, सञ्चगाउँ, लिदी, झुल्के, निम्लुङ, बैगाड टोल समेतको ५०० भन्दा बढी घरहरु जोखिममा परी बस्ती नै अन्यत्र सार्नुपर्ने अवस्थाका कारण हामी अत्यन्तै चिन्तित छौं।” जोखिमबारे एक वर्ष अगाडि पनि स्थानीयले प्रशासनलाई गुहारेका थिए।
“भूगर्भ विभागले त्यहाँ बस्न नमिल्ने भनेपछि त्रिपालको व्यवस्था गरेका थियौं, तर दिनभर काम गर्न जाने गरेका रहेछन्, आज पहिरो खस्यो”, अध्यक्ष श्रेष्ठ भन्छन्। विकट क्षेत्र भएकाले धेरैको ध्यान नजाने लिदीमा स्वास्थ्य, शिक्षा, बिजुली बारे समेत कमै ध्यान जाने गरेको थियो। “उक्त समुदायका धेरैले नेपाली भाषा समेत बोल्न जान्दैनन्, गाउँपालिका कार्यालय समेत त्यहाँबाट टाढा छ”, स्थानीय माधव नेपालले भने।
विकट क्षेत्र भएको र माथिबाट पहिरो खसेकाले उद्धारमा समेत कठिनाइ भइरहेको उपाध्यक्ष तामाङले बताइन्। उद्धारका लागि सेना, प्रहरी र स्थानीय समेत खटिएका छन्।