काँग्रेसले सरकारकाे प्रतिवाद गर्ने नेता पौडेलकाे भनाइ
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार बहुमतको आडमा शक्ति केन्द्रीकरण गर्न अग्रसर भएकाले यसको प्रतिवाद गरिने बताएका छन् ।
अहिलेको कम्युनिष्ट सरकार शक्ति केन्द्रीकरण गर्नतर्फ लागेपछि लोकतन्त्र खतरामा परेको भन्दै उनले लाेकतन्त्र बचाउन त्यसकाे प्रतिवाद गरीने बताए ।
“ठूला आयोजना, सेनाको अधिकार र न्यायिक निकायको अधिकार आफ्नो साथमा लिँदा लोकतन्त्र नै खतरामा परेको छ”, सिन्धुलीमाढीमा पत्रकारहरुसंग कुरा गर्दै नेता पौडेलले भने ।
एक वर्षको अवधिमा शान्ति, सुरक्षा, सुशासन, विकास र समृद्धिका आधारमा अहिलेको सरकार पूर्ण असफल भएको उनको तर्क छ ।
नेता पाैडेलले विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाउनु गलत भएको नेता बताए । “कुनै पनि समूहलाई दबाबमा राख्न खोजे मुलुकमा शान्ति र लोकतन्त्र खतरामा पर्ने भएकाले सरकारले यस कदममा पुनःविचार गर्नुपर्छ”, उनले भने ।
राष्ट्रियता र लोकतन्त्र कमजोर हुने विषयमा जनमत सङ्ग्रह गर्न नसकिने उनकाे भनाइ छ ।
पत्रकारहरुकाे प्रश्नमा उनले काङ्ग्रेस प्रमुख प्रतिपक्षी दल भए पनि संस्थागत रुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताए ।
आफूले अहिले पार्टी नेतृत्वभन्दा पनि पार्टीमा देखिएको गुटको अन्त्य र पार्टीलाई बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेको उनकाे भनाइ छ । “समय आए नेतृत्व लिन तयार छु”, नेता पौडेलले भने ।