आइसोलेशन निर्माण तथा सञ्चालनका लागि स्थानीय तह र अस्पताललाई बजेट
प्रदेश–१ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउनको लागि स्थानीय तह र अस्पतालहरुलाई रकम उपलब्ध गराएको छ। आइसोलेशन केन्द्र स्थापना र सञ्चालनका लागि स्थानीय तहहरुलाई रु १ करोड ६० लाख रकम उपलब्ध गराएको हो।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश स्तरीय सीसीएमसी बैठकले थप आइसोलेशन बेडहरुको व्यवस्था गर्न निर्णय गरेको थियो। प्रदेश सरकारले विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा समाजमा ५० बेड क्षमताको आइसोलन केन्द्र बनाउन महानगरपालिकालाई रु १० लाख रकम उपलब्ध गराएको छ।
रंगेली नगरपालिका–७ स्थित श्री जनता क्याम्पसको भवनमा १०० बेड क्षमताको आइसोलेशन बनाउन रंगेली नगरपालिकालाई १५ लाख, सुनसरीको हरिनगर गाउँपालिका–१ स्थित विरेन्द्र जेनेरल अस्पतालमा ५० बेड क्षमताको आइसोलेशन बनाउन हरिनगर गाउँपालिकालाई १० लाख, बराहक्षेत्र नगरपालिकास्थित रमानन्द आचार्य सेवा पिठ चतरामा १०० बेड क्षमताको आइसोलेशनको लागि १५ लाख र सोलुदुधकुण्ड नगरपालिकालाई आइसोलेसन केन्द्र स्थापना र संचालन गर्न रु ५ लाख प्रदेश सरकारले उपलब्ध गराएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जानकारी दिए।
प्रदेश–१ का ताप्लेजुङ, पाँचथर, ईलाम, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर जिल्ला अस्पतालहरुलाई कम्तिमा रु १० बेड क्षमताको आइसोलेसन स्थापना र संचालन गर्न रु ५ लाखका दरले एकमुष्ट ५५ लाख रकम प्रदेश सरकारले उपलब्ध गराएको छ।
कोभिड–१९ आइसोलेसन अस्पताल गोठगाउँ मोरङ्गलाई रु २० लाख, कोभिड–१९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरलाई रु ५ लाख र मेची अस्पताल, झापालाई १० लाख रुपैयाँ आइसोलेसन संचालनका लागि उपलब्ध गराएको छ।
बेलबारी नगरपालिका, उर्लाबारी नगरपालिका र थुलुङ्ग दुधकोशी गाउँपालिकालाई क्वारेन्टाइन व्यवस्थापन र सञ्चालनका लागि पाँच–पाँच लाख प्रदेश सरकारले निकासा गरेको छ।
प्रदेश १ को कोशी अस्पताल विराटनगर, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट करिब ६० हजार जनाको कोरोना परीक्षण भएको छ।