रुसको कोरोना भ्याक्सिनबारे अमेरिका र ब्राजिलले के भने ?
गएको ११ अगस्ट (२७ साउन) मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाभाइरस विरुद्धको संसारकै पहिलो भ्याक्सिन रुसले बनाएको बनाएको दाबी गरे। रुसले उक्त भ्याक्सिनको नाम स्पुतनिक राखेको छ र महामारी प्रभावित मुलुकहरुमा आपूर्ति गर्न तयार रहेको बताएको छ।
संसार नै यो महामारीबाट आच्छुआच्छु भइरहेको वेला भ्याक्सिन बनेको खबर आउँदा उत्सव मनाइनुपर्ने हो। तर, रुसी भ्याक्सिनप्रति उदासीनता देखिएको छ।
कोरोना संक्रमणबाट अमेरिका, ब्राजिल, भारत लगायत मुलुकहरु नराम्ररी प्रभावित भएका छन्। ती मुलुकहरुले पनि रुसको भ्याक्सिनप्रति उत्साहित छैनन्।
कोरोनाबाट दोस्रो बढी प्रभावित मुलुक ब्राजिलमा कोरोनाबाट १ लाख ५ हजारभन्दा बढीको ज्यान गइसकेको छ। यहाँ सक्रिय संक्रमितको संख्या ७ लाख ६७ हजारभन्दा बढी छ। यति हुँदा पनि ब्राजिल भ्याक्सिनबारे सशंकित र उदासीन छ। ब्राजिलले भनेको छ, उसलाई भ्याक्सिन खरीद गर्न यसबारे अझै बढी सूचना चाहिन्छ।
ब्राजिलका स्वास्थ्य मन्त्रीले बिहीबार रुसको भ्याक्सिन शुरुआती चरणमा रहेको भन्दै यसबारे आफूसँग विस्तृत जानकारी नभएकाले थप कुरा बुझ्ने बताएका छन्।
उता, रुसले कोरोनाभाइरससँग जुध्न आफ्नो भ्याक्सिन दिने प्रस्ताव राखेकोमा अमेरिकाले यस्तो प्रकारको सहयोग लिन अस्वीकार गरेको सीएनएनले जनाएको छ।
सीएनएनसँग रुसका एक अधिकारीले भने, ''दुवै देशमा भरोसाको कमी छ। यस्तोमा प्रविधि, भ्याक्सिन, परीक्षण र उपचारमा सहयोग सायदै सम्भव होला।"'
बिहीबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका प्रेस सेक्रेटरी केली म्याकनानीले प्रेस ब्रिफिङ गर्दै राष्ट्रपति ट्रम्पलाई रुसको भ्याक्सिनबारे जानकारी दिइसकेको बताएकी थिइन्। उनले अमेरिका आफैं भ्याक्सिन परीक्षणको तेस्रो चरणमा रहेको पनि बताइन्।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि रूसको भ्याक्सिनको बारेमा प्रतिक्रिया दिंदै यसबारे धेरै जानकारी नभएकाले मूल्यांकन गर्न नसक्ने बताएको छ।
यता, भारतले रूसको भ्याक्सिनबारे अहिलेसम्म आधिकारिक रूपमा केही पनि बताएको छैन। - एजेन्सी