'संघीयताको अर्थराजनीति' बजारमा
विनोद न्यौपाने लिखित पुस्तक 'संघीयताको अर्थराजनीति' बजारमा आएको छ। पुस्तकमा संघीयता, विकेन्द्रीकरण, अन्तरसरकारी सम्बन्ध र ऐतिहासिक, आर्थिक, सामाजिक रुपान्तरणमा भइरहेका अनुसन्धान लगायत विषय समेटिएका छन्।
विश्वमा अभ्यास भइरहेका संघीयताका मोडललाई अर्थराजनीतिक ढाँचाबाट विवेचना गरिएको पुस्तकमा नेपालको संघीयताका सबल र कमजोर पक्ष तथा चुनौती र अवसरबारे केलाउनुका साथै आर्थिक-राजनीतिक सामर्थ्यका आधारमा विश्लेषण गरिएको छ।
नेपालका राजनीतिक दलका नेता-कार्यकर्ता, जनप्रतिनिधि, सरकारी कर्मचारी, दातृ निकाय र संघीयताको कार्यान्वयनमा विभिन्न क्षेत्र र निकायसँग जोडिएर काम गरिरहेकाहरुलाई संघीयताको अर्थराजनीति बारे बुझाउन यो पुस्तक लेखेको लेखक न्यौपानेले बताएका छन्।
सांग्रिला बुक्सले प्रकाशन गरेको ५०८ पृष्ठको पुस्तकको मूल्य रु. ७९५ राखिएको छ।