नदीबाट बाहिर निस्कन थाले मगर गोही, बर्दियामा गरियो उद्दार
नदी तथा खोलामा धमिलो पानी भएपछि बर्दिया र कैलालीमा मगर गोही गाउँगाउँमा देखिन थालेका छन्। बुधबार मात्र बर्दियाको गेरुवा गाउँपालिका–६ वेलभरियास्थित धान खेतमा फसेको मगर गोहीको उद्दार गरिएको छ।
बर्दिया राष्टि निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाका अनुसार, केही दिनअघि बर्दिया र कैलालीका विभिन्न स्थानमा मगर गोही खेतबारीमा देखिएको थियो। पानीको खोजी र नदीमा धमिलो पानी भएको अवस्थामा मगर गोही बाहिर देखिने थापाले बताए।
“मगर गोहीले बाख्रा, पाठा, बालबच्चालाई आक्रमण गर्ने सम्भावना हुन्छ। बर्खाको समयमा प्राय नदी भन्दा बाहिर देखिन्छ।”, थापाले भने।
कर्णाली र बबई नदीमा मगर गोही प्रशस्त पाइन्छ। आज भेटिएको गोहीलाई निकुञ्जको गोला इलाकामा छोडिएको थियो। उक्त इलाका गोहीको वासस्थान हो।