कोरोना संक्रमणबाट प्रदेश २ मा ३९ जनाले ज्यान गुमाए, पर्सामा मात्र १९ को मृत्यु (जिल्लागत संख्यासहित)
पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाभाइरस संक्रमण (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेमा प्रदेश २ का दुई जना, प्रदेश १ का एक जना र सुदूरपश्चिम प्रदेशका एक जना छन्।
मन्त्रालयका अनुसार तिनमा महोत्तरी, मटिहानीका ४५ वर्षीय पुरुष, धनुषाको मिथिला नगरपालिका–७ की ८५ वर्षीय महिला, अछामको रामारोशन गाउँपालिका–५ का १८ वर्षीय पुरुष र मोरङको विराटनगर महानगरपालिका–३ का ५७ वर्षीय य पुरुष छन्।
महोत्तरीका ४५ वर्षीय पुरुष क्षयरोग र मधुमेहका बिरामी थिए। स्वास्थ्य मन्त्रालयले धनुषाकी मृतक महिलालाई निमोनिया र स्वासप्रस्वासको समस्या रहेको जनाएको छ। त्यस्तै अछामका कोरोना संक्रमित मुटुरोगी थिए भने मोरङका कोरोना संक्रमित पुरुषलाई मधुमेह र उच्च रक्तचाप थियो।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको २९ साउनसम्मको तथ्यांक अनुसार कोरोना संक्रमणबाट ज्यान गुमाउनेमा सबभन्दा धेरै प्रदेश २ को पर्सा जिल्लाका छन्। पर्सामा अहिलेसम्म कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ।
त्यसपछि प्रदेश २ कै धनुषामा आठ जनाको मृत्यु भएको छ। मुलुकको राजधानीसमेत रहेको काठमाडौंमा कोरोना संक्रमणबाट आठ जनाको मृत्यु भएको छ।
त्यस्तै, प्रदेश–१ को जिल्ला, मोरङमा कोरोना संक्रमणबाट सात जनाले ज्यान गुमाएका छन्। प्रदेश २ कै बारामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
सुदुरपश्चिम प्रदेशको जिल्ला, कैलालीमा अहिलेसम्म कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ। त्यसैगरी प्रदेश २ को सप्तरी, बागमती प्रदेशको सिन्धुपाल्चोक, प्रदेश ५ को बाँके र प्रदेश ५ कै जिल्ला, गुल्मीमा कोरोना संक्रमणबाट तीन–तीन जनाको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयको २९ साउनसम्मको तथ्यांक अनुसार गण्डकी प्रदेशको स्याङ्जा, प्रदेश ५ को कपिलवस्तु, बागमती प्रदेशको चितवन, प्रदेश २ को रौतहट, प्रदेश २ को सर्लाही, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको अछाममा पनि कोरोना संक्रमणबाट दुई–दुई जनाले ज्यान गुमाएका छन्।
यसबाहेक धादिङ, काभ्रे, बाग्लुङ, कास्की, सिराहा, बझाङ, रुपन्देही, गोरखा, म्याग्दी, दाङ, अर्घाखाँची, बाजुरा, डोल्पा, दोलखा, दैलेख, पाल्पा, ललितपुर र महोत्तरीमा कोभिड–१९ बाट एक–एक जनाको मृत्यु भएको छ ।
मन्त्रालयको यो आँकडाले प्रदेश २ कोभिड–१९ बाट अति प्रभावित रहेको देखाउँछ। संक्रमितको संख्या पनि रफ्तारमा बढिरहेको प्रदेश-२ मा मृतक संख्या पनि सबभन्दा बढी छ।
कोरोना संक्रमणबाट बिहीबारसम्म प्रदेश-२ मा ३९ जनाको मृत्यु भएको छ।
प्रदेश-२ मा पनि पर्सा जिल्ला कोरोनाको ‘हटस्पट’ बनेको छ, जहाँ अहिलेसम्म संक्रमणबाट १९ जनाको मृत्यु भइसकेको छ। पछिल्लो समय कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्न थालेको छ र त्यसमा दीर्घ रोगीको संख्या बढिरहेको देखिन्छ।
विज्ञहरु मुटु, कलेजो, स्वासप्रस्वास, मधुमेह, क्यान्सर लगायत दीर्घ रोगका बिरामीहरु कोरोना संक्रमणको उच्च जोखिममा रहने भएकाले विशेष ख्याल राख्नुपर्ने बताउँछन्।
यो हिसाबले पनि प्रदेश २ को पर्सा जिल्ला डरलाग्दो अवस्थामा देखिन्छ। स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार पर्सा जिल्लामा आर्थिक वर्ष २०७५/७६ मा बहिरंग सेवा लिने नयाँ दिर्घरोगीको संख्या करिब ५१ हजार छ।
अर्कोतर्फ स्वास्थ्य मन्त्रालयकै तथ्यांकले प्रदेश २ मा स्वास्थ्यका आधारभूत एवम् अत्यावश्यक पूर्वाधार कमजोर रहेको देखाउँछ। पूर्वाधार र जनशक्ति अभावले स्वास्थ्य सेवासमेत कमजोर छ। मन्त्रालयका अनुसार, यो प्रदेशमा ७४५ स्वास्थ्य चौकी, १६९ निजी स्वास्थ्य संस्था, ३२ प्राथमिक स्वास्थ्य केन्द्र र १३ सरकारी अस्पताल छन्।
प्रदेश–२ का १९ प्रतिशत स्वास्थ्य चौकीमा मात्र आफ्नै प्रयोगशाला सेवा छ। यस्तै, यो प्रदेशका जम्मा १४ प्रतिशत स्वास्थ्य संस्थाले मात्र न्यूनतम गुणस्तरीय सेवा दिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।