समुदायस्तरमा कोरोना फैलिएको भन्दै बल्खु-कलंकी क्षेत्रमा थप कडाइ
समुदायस्तरमा कोरोना महामारीको संक्रमण फैलिएको भन्दै काठमाडौं महानगरपालिका–१४ मा थप कडाइ गरिएको छ। वडा कार्यालयले सूचना जारी गर्दै संक्रमणबाट बच्न कडाइ गरिएको जानकारी दिएको छ।
सूचनाअनुसार, फलफूल तथा तरकारी व्यवसायीहरुले बिहान ५ देखि ९ बजेसम्म मात्रै व्यवसाय सञ्चालन गर्न पाउनेछन्। औषधि लगायत अत्यावश्यक सामग्री खरीदका क्रममा दुई मिटर दूरी कायम गर्न आग्रह गरेको छ।
ठेलागाडा लगायत फुटपाथको व्यवसायमा पूर्ण बन्देज लगाएको वडा कार्यालयले जनाएको छ। यो वडा बढी संक्रमित भेटिएको क्षेत्र हो। वडा कार्यालयले २६ साउनको उपत्यका नगरपालिका फोरमको निर्णय र २७ साउनमा काठमाडौं महानगरबाट प्राप्त पत्रका आधारमा थप कडाइ गर्न लागिएको जानकारी दिएको छ।
वडा कार्यालयले १५ दिनसम्म प्रशासनिक काम रोकिएको समेत जानकारी दिएको छ। राजधानी उपत्यकामा बिहीबार मात्रै १२७ जनामा संक्रमण पुष्टि भएको छ।