आठ दिनपछि ओली–दाहालबीच चार घण्टा छलफल, वार्ता ‘सकारात्मक’
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बिहीबार झण्डै चार घण्टा लामो छलफल भएको छ। गएको २० साउनदेखि टुटेको वार्ता बिहीबारबाट शुरु भएको छ।
भेटवार्ताका लागि दाहाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। ‘वान अन वान’ वार्ता सकारात्मक उन्मुख रहेको दाहालका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले बताए। “दुई अध्यक्षबीच भएको वार्ता सकारात्मक उन्मुख छ। थप छलफल गरेर सहमति खोज्ने प्रयास गर्ने गरी अध्यक्षहरु छुट्नुभयो”, सापकोटाले भने।
अर्को वार्ता भोलि नै हुने सापकोटाले बताए। त्यसअगाडि दाहालले आफ्ना समूहका नेताहरुसँग छलफल गर्ने संभावना रहेको बताइएको छ। गएको २१ साउनमा दाहालसहित वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठले सामूहिक पत्रकार भेटवार्ता गरेपछि दुई अध्यक्ष बीचको भेटवार्ता रोकिएको थियो।
तर, बुधबार मात्रै एक टेलिभिजन अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले पाँच दिनभित्र पार्टीभित्र देखिएको गतिरोध हल गर्ने घोषणा गरेका थिए। त्यसको भोलिपल्ट नै भएको भेटवार्ता सकारात्मक बनेको दुवै पक्षले दावी गरेको छ। प्रधानमन्त्री ओली निकट नेताहरुले पनि छलफल सकारात्मक बनेको दावी गरेका छन्।
गएको १० असारदेखि जारी स्थायी कमिटी बैठक १३ साउनदेखि अनिश्चित बनेको छ। प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा गर्नुपर्ने माग आएपछि स्थायी कमिटी नै अन्योलमा परेको छ। तर, केही दिनभित्रै सहमति जुट्नेमा ओली निकट नेताहरु विश्वस्त छन्।