आजदेखि काठमाडौं उपत्यका प्रवेश गर्न र बाहिरिन बन्देज
कोरोनाभाइरसको संक्रमण बढेपछि काठमाडौं भित्रिन र बाहिरिन रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को व्यवस्था नभएसम्म काठमाडौं भित्रिन र बाहिरिन जारी गरिने सवारी पास पूर्ण रुपमा बन्द गरेको छ। बिहीबार सूचना जारी गर्दै कार्यालयले सवारी पास जारी गर्ने कार्य बन्द गरिएको जनाएको छ।
गृह मन्त्रालयले २८ साउनमा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको थियो।
यसअघि जिल्ला प्रशासन कार्यालयहरुले यात्राको शुरुदेखि गन्तव्यसम्म पुग्न पास जारी गर्दै आएका थिए। तर, अब त्यो व्यवस्था खारेज गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मानबहादुर बुढाले बताए। यो निर्णयपछि अब काठमाडौं उपत्यका प्रवेश गर्न र बाहिरिन बन्देज लागेको छ।
भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले पनि सवारी पास वितरणमा बन्देज लगाउने तयारी गरेका छन्। ढुवानीका साधन, एम्बुलेन्स आदि भने चल्न पाउनेछन्।