प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे दाहाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार पुगेर प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन्।
आफ्नो सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि दाहाल होम क्वारेन्टिनमा बसेका थिए।
ओली र दाहालबीच १० दिनको अन्तरालमा भेट भएको हो। गएको २० साउनमा ओली र दाहालले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई राखेर छलफल गरेयता भेटेका थिएनन्।
दाहालका प्रेस संयोजक विष्णु सापकोटाले प्रम ओलीलाई भेट्न दाहाल बिहान ११ बजे बालुवाटार पुगेको जानकारी दिए।
सत्तारुढ नेकपाभित्र चुलिएको शक्ति संघर्षले १० असारमा शुरु भएको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
आफ्नो सुरक्षार्थ खटिएका प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि दाहाल पछिल्लो समय खुमलटारस्थित निवासमा क्वारेन्टिनमा बस्दै आएका थिए। उनको परिवार र सचिवालयका सदस्यहरु समेत सेल्फ आइसोलेसनमा बसेका थिए।