चिकित्सक संक्रमित भएपछि झापाको आम्दा मेची अस्पताल सिल
झापाको मेचीनगर–१० धुलाबारीस्थित आम्दा मेची अस्पतालमा कार्यरत चिकित्सकलाई कोरोनाभाइरस संक्रमण भएपछि अस्पताल सिल गरिएको छ।
अस्पतालको सबै सेवा बुधबारदेखि बन्द गरेर सिल गरिएको नगरपालिकाले जनाएको छ। हाल संक्रमित चिकित्सकलाई अस्पतालकै दोस्रो तलाको कोठामा आइसोलेशनमा राखिएको छ।
मेचीनगरमा चिकित्सकलाई पहिलोपटक सङ्क्रमण भएको फेला परेको हो। केही दिनअघि मेचीनगर–१० धुलाबारी बजारका १५ वर्षीय किशोरमा सङ्क्रमण पुष्टि भएसँगै समुदायस्तरमा फैलिएको थियो।
अहिले चिकित्सकसहित एकैपटक चार जनामा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकामा एक साताका लागि बन्दाबन्दी घोषणा गरिएको छ। नगरस्तरीय कोरोना सङ्क्रमण नियन्त्रण कार्यदलले विभिन्न राजनीतिक दल, सङ्घसंस्थाका प्रमुख प्रतिनिधि सुरक्षाकर्मीसँग छलफल गरेर बन्दाबन्दी घोषणा गरेको हो।
मेयर विमल आचार्यका अनुसार सङ्क्रमण फेला परेकाकासँग सम्पर्कमा आएका र अन्य शङ्कास्पद व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरी पीसीआर परीक्षणका लागि स्वाबको नमूना सङ्कलन गरिनेछ।