खुलेको दुई सातामै बन्द भए सौराहाका होटल
चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुलेको दुई सातामा नै पुनः बन्द भएका छन्। १५ साउनबाट खुलेका होटल बुधबारबाट बन्द भएका हुन्।
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सरकारले पुनः बन्द गर्न निर्देशन दिएकाले होटलको सेवा रोकिएको हो। त्यसअघि ११ चैतबाट बन्द भएका होटल चार महिनापछि सञ्चालनमा आएका थिए।
कर्मचारी बोलाएर सरसफाइ, मर्मतसम्भार, रङरोगन, इन्टरनेट जडानलगायत काम सकिन नपाउँदै पुनः होटल बन्द भएको भट्टराईले बताए। उनले भने, “हामीले कति दुःख पाउने ? कर्मचारी बोलायौँ, खर्च ग¥यौँ, फेरि बन्द गर्नुप¥यो।”
सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे आउँदो दशैँअघि होटल खोल्नुको औचित्य नहुने बताउँछन्। कोरोनाभाइरस सङ्क्रमण बढ्दै गएकाले जिल्लामा गरिएको बन्दाबन्दीसँगै लामो दूरीका सवारीसाधन पनि बन्द छन्। त्यसैले होटलमा ग्राहक आउन पनि नसक्ने उनको भनाइ छ।
होटलसँगै रेष्टुरेन्ट पनि बन्द हुन् थालेका छन्। किनेर लैजाने ग्राहक कम हुने भएकाले रेष्टुरेन्टमा ग्राहक नआउने व्यवसायीको भनाइ छ।
सौराहामा ११० होटल छन्। यसैगरी साना ठूला १०० हाराहारी रेष्टुरेन्ट छन्। सौराहाका होटलमा प्रत्यक्षरुपमा पाँच हजार ५०० भन्दा बढी कामदारले रोजगारी पाएका छन्।