फेसबुकमा ‘फलैंचा संगीत’ को लाइभ कन्सर्ट
बन्दाबन्दीको समय सदुपयोग गर्न विभिन्न व्यक्ति र समूहले रचनात्मक कामहरू गरिरहेका छन्। यसैमध्येको एउटा हो फेसबुक कन्सर्ट 'फलैंचा संगीत'।
सरोद बादक रुपा न्यौपानेले फेसबुक कन्सर्ट ‘फलैंचा संगीत’ संचालन गरिरहेकी छन्। फेसबुक पेज ‘फलैंचा संगीत’ बाट लाइभ हुने यो कार्यक्रम लोकप्रिय बन्दै गइरहेको छ।
न्यौपाने बन्दाबन्दी शुरु भएपछि महिला तथा बालबालिका घरैमा बसिरहँदा मानसिक तनाब हुनसक्ने भएकोले उनीहरुलाई हौसला दिन आफूले कन्सर्ट शुरु गरेको बताउँछिन्।
साताको बुधबार र शुक्रबार हुने कन्सर्टमा नेपाल तथा भारतका महिला र बाल कलाकारहरूले आफ्नो कला प्रस्तुत गरिरहेका छन्।
कन्सर्टमा शास्त्रीय, आधुनिक, भजन गायन हुनुका साथै सितार, तबला, भ्वाईलिन बादकहरूले प्रस्तुति दिइरहेका छन्। स्वयं न्यौपानेले पनि समय समयमा सरोद बजाएर दर्शकलाई मनोरन्जन दिइरहकी छन्।
“यसले महिला तथा बालबालिकालाई हौसला पनि मिल्ने र शास्त्रीय संगीतको संरक्षण तथा प्रवर्द्धन पनि हुने भएकोले शुरु गरेकी हुँ,” न्यौपानेले भनिन्।
अहिलेसम्म ज्ञानु राणा, सितु रिमाल खरेल, अनिता महर्जन, सुगमा गौतम, जलजला परियार र पाहुना कलाकारको रुपमा भारतका शास्त्रीय गायिका लावणी चक्रवर्ती प्रसाईं लगायतका कलाकारहरूले प्रस्तुति दिइसकेका छन्।
फेसबुक कन्सर्टमा संसारभरबाट हेरेर सकारात्मक प्रतिकृयाहरू पाइरहेकाले कोरोनाभाइरसको समस्या भएसम्म निरन्तरता दिने न्यौपानेले बताइन्।
कन्सर्ट कलाकारको समय अनुसार साँझ ६ बजेदेखि ७ बजेसम्म र रातको ८ बजेदेखि ९ बजेसम्म फेसबुकबाट लाइभ भइरहेको छ। बुधबार ८ बजे भारतीय बालकलाकार प्रणव शंकरको प्रस्तुति रहने जानकारी न्यौपानेले दिइन्।
आगामी शुक्रबार विपश्यना योञ्जन सितार बादक र बुधबार डा. खुश्बु तबला बादकको प्रस्तुति हुनेछ।
न्यौपानेले आफूलाई कार्यक्रम लाइभ गर्न, कलाकार छनौट गर्न, पोस्टर बनाउनलगायत काममा श्रीमान् मीननाथ न्यौपाने, छोरा विवेक न्यौपाने, छोरी रुमु न्यौपानेले सहयोग गरिरहेको बताईन् ।