किशोरलक्षित उपन्यास ‘उडान’ बजारमा
कथा, निबन्ध र कविता विधामा पहिचान बनाएका विजय सापकोटाको किशोर उपन्यास ‘उडान’ बजारमा आएको छ ।
किशोरहरूका लागि पुस्तकको अभाव भइरहेको बेला ‘उडान’ बजारमा आएको हो ।
बाल र किशोर साहित्य लेखनमा पनि औधी रुचि राख्ने सापकोटाको ‘उडान’ उपन्यासमा अधिकांश नेपाली किशोरहरूका समस्या, भावना र मनोविज्ञानमा आधारित छ ।
उनीहरूका कतिपय सामाजिक, सांस्कृतिक र शैक्षिक समस्यासित जोडेर यस उपन्यास लेखिएको लेखकले बताएका छन् ।
बढ्दो यौन शोषण र सामाजिक सञ्जालको दुरुपयोगबाट कसरी किशोरहरू प्रताडित छन् ? त्यसका लागि कसरी सचेत हुनुपर्छ ? र, प्रेम के हो ? भन्ने विषय तथा आफ्नो काम आफैं गरौं, प्रश्न गरौं, आफ्नो शरीरमाथिको अधिकारप्रति सचेत रहौं भन्ने विषय उपन्यासमा उठाइएको छ ।
जातीय विभेदले निम्त्याउने परिणाम र चलचित्र एवं पुस्तक छनोटले पार्ने दूरगामी असरमाथि पनि पुस्तकले गम्भीररूपमा सोच्न बाध्य पार्छ ।
आत्मसाक्षात्कार र स्वयं सचेत रहन उपन्यासले सघाउने बताइएको छ ।
किशोर उपन्यास भइकन पनि बालबालिका, अभिभावक, शिक्षकलगायतले पढ्नै पर्ने किताब हो उडान भन्ने प्रकाशकको दाबी छ ।
पुस्तक शाब्दिक बुक्सले प्रकाशन गरेको हो ।