यो वर्षको धान रोपाइँ सकियो, ४ प्रतिशत बढी भूभागमा रोपाइँ
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २८ साउनमा सार्वजनिक गरेको एक तथ्यांक अनुसार यो वर्ष देशैभर ९८.१९ प्रतिशत धान रोपाइँ सकिएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्ष २८ साउनमै करीब ४ प्रतिशतले धान रोपाइँ बढेको छ।
गत वर्ष ९४.४३ प्रतिशत अर्थात देशैभरको १३ लाख ९५ हजार २८२ हेक्टर जमिनमा धान रोपिएको थियो । गत वर्षको तुलनामा यो वर्ष ३.७६ प्रतिशतले रोपाइँ बढेको छ । यस वर्ष १३ लाख ४६ हजार ९२० हेक्टरमा रोपाइँ भएको छ । कुल रोपाइँ हुने जमिन १३ लाख ७१ हजार ७०६ हेक्टर रहेको कृषि मन्त्रालयले जानकारी दिएको छ।
अब करीब रोपाइँ सकिएको र कुनैकुनै ठाउँमा छुटेको र कुना काप्चामा बाँकी रहेकाले त्यो निकै कम हिस्सामा आउने कृषि मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले बताए।
उनले भने ‘‘अब हुने रोपाइँको प्रतिशत मुस्किलले ०.३ प्रतिशतसम्म हुने भएकाले यो वर्ष औषतमा ९८ प्रतिशत रोपाइँ भएको निष्कर्ष मन्त्रालयको छ । ’’केसीका अनुसार यो वर्ष नियमित मनसुन भएको, रोपाइँ शुरु भएपछि सकिने वेलासम्म मौसमले साथ दिएकाले गत वर्षको तुलनामा छिटो र धेरै भूभागमा रोपाइँ भएको हो।
अब भदौभरि खडेरी परेन र रासायनिक मलको उपलब्धता भयो भने गत वर्षको तुलनामा उत्पादन पनि बढ्ने अनुमान गरिएको केसी बताउँछन् । भदौदेखि मलको उपलब्धता नियमित हुने अनुमान उनको छ।
कृषकले एक पटक रोपाइँ गर्दा जसोतसो मल प्रयोग गरिसकेकाले अब धान पोट्याउने बेलासम्ममा मल हाल्न पाउने गरी सहजै उपलब्ध भएमा र एक महीना मात्रै खडेरी नपरेको अवस्थामा धानको उत्पादन पक्कै बढ्ने केसी बताउँछन्।
कृषि मन्त्रालयका अनुसार यो वर्ष सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिम प्रदेशमा ९९.८६ प्रतिशत भएको छ भने सबैभन्दा कम प्रदेश १ मा ९५.८८ प्रतिशत भयो । यसैगरी प्रदेश २ मा ९९.०२ प्रतिशत, प्रदेश ५ मा ९८.६६ प्रतिशत, कर्णाली प्रदेशमा ९८.५३ प्रतिशत, वागमती प्रदेशमा ९७.८५ प्रतिशत र गण्डकी प्रदेशमा ९७.६८ प्रतिशत रोपाइँ भएको छ।
धान उत्पादन गत वर्ष २०७६/७७ मा ५५ लाख ५० हजार ८७८ मेट्रिक टन भएको थियो । यस अघि सबैभन्दा धेरै आव २०७५/७६ मा १४ लाख ९१ हजार ७४४ हेक्टरमा धान खेती भएको र सो वर्ष ५६ लाख १० हजार ०११ मेट्रिक टन भएको पनि कृषि मन्त्रालयको तथ्यांकमा उल्लेख छ।