केयूका परीक्षा अनलाइनबाटै, अन्य विश्वविद्यालय अझै अन्योलमा
सरकारले भदौदेखि सञ्चालनको अनुमति दिए पनि कोरोनाभाइरस संक्रमण बढ्न थालेपछि पठनपाठन र परीक्षा सञ्चालनबारे अधिकांश विश्वविद्यालय अन्यौलमा छन्। काठमाडौं विश्वविद्यालयले भने अनलाइनबाटै विभिन्न तहको परीक्षा सञ्चालन गरिरहेको छ।
कोभिड-१९ महामारीबीच काठमाडौं विश्वविद्यालय (केयू) ले शैक्षिक क्यालेन्डर अनुसार नै अनलाइन पठनपाठन र परीक्षा संचालन गरिरहेको जनाएको छ। विश्वविद्यालयले शिक्षा, व्यवस्थापन र मानविकी संकायका परीक्षा संचालन गरिरहेको छ। विज्ञान तथा इञ्जिनियरिङ संकायको प्रयोगात्मक परीक्षा धेरै हुने हुँदा केही समयपछि गराउने तयारी भइरहेको छ।
केयूमा ११ हजार विद्यार्थी अध्ययनरत छन्। शतप्रतिशत विद्यार्थी नै अनलाइन कक्षा र परीक्षामा सहभागी भइरहेको व्यवस्थापन संकायका सहायक डीन प्रा. विनोदकृष्ण श्रेष्ठले बताए। उपत्यकाबाहिर रहेका ५० प्रतिशत विद्यार्थीलाई पनि परीक्षामा सामेल गराउन सफल भएको उनको भनाइ छ।
अनलाइन परीक्षा प्रणालीमा सबैलाई एकसाथ इमेलबाट प्रश्न पठाइन्छ। विद्यार्थीले उत्तरपुस्तिकामा हातैले लेखेर स्क्यान गरी परीक्षा अवधिभित्रै पठाइसक्नुपर्छ। इन्टरनेटको समस्याले उत्तरपुस्तिका नआए १५ मिनेटसम्म थप समय दिइन्छ।
विश्वविद्यालय खुलेपछि विद्यार्थीले आफूसँग भएको उत्तरपुस्तिका अनिवार्य बुझाउनुपर्छ। विद्यार्थीले स्क्यान गरी पठाएको र विश्वविद्यालयमा बुझाएको उत्तरपुस्तिकाको लेखाइ मेल नखाए परीक्षा रद्द हुने सहायक डीन श्रेष्ठले बताए। परीक्षा खुला प्रणालीमा गरिएकाले विद्यार्थीले पुस्तक, अनलाइन र नोटहरु हेरेर उत्तर लेख्न सक्छन्।
प्रा. श्रेष्ठका अनुसार, यसअघि हरेक सेमेष्टरका विद्यार्थीलाई करीब तीन घण्टा अनलाइन परीक्षासम्बन्धी तालिम दिइएको थियो। “अनलाइन माध्यमबाट कसरी प्रश्न पठाइन्छ र विद्यार्थीले कसरी उत्तर लेख्ने भनेर सबै संकाय र सेमेष्टरका विद्यार्थीलाई तालिम दिएपछि मात्रै हामीले परीक्षा सञ्चालन गरेका हौं।”
विश्वविद्यालयले विद्यार्थीको अनलाइन कक्षाको प्रभावकारिताबारे पनि अध्ययन गरेको छ। करीब ५०० विद्यार्थीमा गरिएको अध्ययनमा यसको प्रभावकारिता भौतिक उपस्थितिमा पढाएको बराबर भएको पाइएको जनाइएको छ।
काठमाडौं विश्वविद्यालयले केही विषयका परीक्षाफल पनि प्रकाशन गरिसकेको छ। विश्वविद्यालयले आफ्नो शैक्षिक क्यालेन्डर अनुसार नै शैक्षिक गतिविधि अगाडि बढाइरहेको छ। केही हप्ताभित्र शिक्षा संकायको पठनपाठन सञ्चालन गर्ने योजना समेत बनाएको छ।
तर, अनलाइन कक्षाले पूर्ण सिकाइ भने नहुने प्रा. श्रेष्ठ बताउँछन्। उनी भन्छन्, “पढाइ लेखाइ मात्रै सिकाइ होइन। अनलाइन मार्फत एक-अर्काको भावना बुझ्ने, सामूहिक सहभागिता, सामाजिक व्यवहारहरु सिकाउन सकिंदैन। त्यसैले अहिलेको यो प्रयास महामारी अवधिभरको लागि मात्रै हो।”
काठमाडौं विश्वविद्यालयले केही विषयका परीक्षाफल पनि प्रकाशन गरिसकेको छ। केही साताभित्र शिक्षा संकायको पठनपाठन शुरु गर्ने र दीक्षान्त समारोह पनि शैक्षिक क्यालेन्डर अनुसार नै गर्ने योजना बनाएको छ।
तर, स्नातक पहिलो वर्षको कक्षा भने महामारीका कारण प्रभावित भएको छ। १२ कक्षाको परीक्षा नहुँदा भर्ना लिन समस्या भएको विश्वविद्यालयले जनाएको छ। यसै कारण अर्को वर्षको शैक्षिक सत्र प्रभावित हुनसक्ने विश्वविद्यालयले जनाएको छ।
अन्य विश्वविद्यालयको परीक्षा अन्यौलमा
त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण महाशाखाले ९ साउनमा सूचना जारी गरेर सञ्चालन हुन बाँकी परीक्षा भदौ दोस्रो सातादेखि हुने जनाएको थियो। तर, फेरि कोरोना संक्रमण बढ्न थालेपछि तोकिएको मितिमा परीक्षा गराउन सकिने संभावना कम भएको त्रिविका शिक्षाध्यक्ष प्रा. शिव भुसाल बताउँछन्।
त्रिवि रजिष्ट्रारको कार्यालयले गएको आइतबार सूचना जारी गर्दै त्रिवि केन्द्रीय कार्यलय र अन्य क्याम्पसका कार्यालय आंशिक सञ्चालन गर्ने जनाएको छ। त्यस्तै, अत्यावश्यक बाहेक अन्य सबै सेवा बन्द गर्ने र स्थानीय प्रशासनले बन्दाबन्दी तथा निषेधाज्ञा जारी गरेमा सो क्षेत्रका क्याम्पस कार्यलयका सम्पूर्ण सेवा बन्द गर्ने जनाएको छ।
त्रिवि रजिष्ट्रारको कार्यालयले गएको आइतबार सूचना जारी गर्दै त्रिवि केन्द्रिय कार्यलय र अन्य क्याम्पसका कार्यालय आंशिक सञ्चालन गर्ने जनाएको छ। त्यस्तै अत्यावश्यकबाहेक अन्य सबै सेवा बन्द गर्ने र स्थानीय प्रशासनले बन्दाबन्दी तथा निशेधाज्ञा जारी गरेमा सो क्षेत्रका क्याम्पस कार्यलयका सम्पूर्ण सेवा बन्द गर्ने जनाएको छ।
त्यहीकारण त्रिविले भदौदेखि सञ्चालन गर्ने जनाएको परीक्षा पनि अनिश्चित बनेका छन्। भुषाल भन्छन्, “अहिलेको अवस्था हेर्दा परीक्षा गराउन सकिने अवस्था नभएकाले के गर्ने भन्ने छलफल गरिरहेका छौँ। उपत्यका बाहिर रहेका विद्यार्थीले पनि विभिन्न माध्यम मार्फत चिन्ता व्यक्त गरिरहेकोले केही दिनभित्रै सूचना दिनेछौं।”
पूर्वाञ्चल विश्वविद्यालयले पनि बन्दाबन्दी खुकुलो भएपछि विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा गर्ने तयारी गरिरहेको थियो। तर, संक्रमितको संख्या बढ्न थालेपछि अन्यौल भएको परीक्षा नियन्त्रक डा.सूर्य संग्रौला बताउँछन्।
उनी भन्छन्, “भदौदेखि परीक्षा सञ्चालन गर्ने तयारी भईरहेको थियो। तर, पछिल्लो परिस्थितिमा परीक्षा गराउन सक्ने अवस्था छैन। स्थगित पनि भएको छैन।” विश्वविद्यालयले सामान्य अवस्था भएपछि परीक्षा तालिका प्रकाशित गरिने सूचना जारी गरेको छ।
मध्यपश्चिम विश्वविद्यालयले वैकल्पिक माध्यमबाट अध्यापनलाई निरन्तरता दिइरहेको छ। अनलाइन र अफलाइन विधिबाट पढाइरहे पनि परीक्षा भने स्थगित नै छन्। सामान्य अवस्थापछि मात्रै परीक्षा गर्ने विश्विद्यालयले जनाएको छ।
पदाधिकारी नहुँदा पोखरा विश्वविद्यालयमा भद्रगोल
११ महीनादेखि पदाधिकारीविहीन भएको पोखरा विश्वविद्यालयको परीक्षा पनि अन्यौलमै छ। विश्वविद्यालयको उपकुलपति, रजिष्ट्रार, परीक्षा नियन्त्रक, डीन, विभागीय निर्देशक लगायत पद खाली छन्।
यसअघि तीन महीनाको लागि उपकुलपति र रजिष्ट्रारको अस्थायी नियुक्त भएको थियो। अस्थाई नियुक्त गरिएका उपकुलपति र रजिष्ट्रारको पनि पनि पदावधि सकिएपछि विश्वविद्यालयको सम्पूर्ण काम कारबाहीमा असर परिरहेको सह परीक्षा नियन्त्रक पुष्पा पौडेलले जानकारी दिइन्।
विश्वविद्यालयले स्वास्थ्य विज्ञान, मानविकी, इञ्जिनियरिङ, व्यवस्थापन गरी चार संकायको अध्यापन गराईरहेको छ। चार संकायमध्ये व्यवस्थापनमा मात्रै डीन छन्। त्यसैगरी मानविकी विभागमा मात्रै विभागीय निर्देशक छन्।
विश्वविद्यालयले बन्दाबन्दी खुकुलो भएसँगै यसअघि स्थगित स्नातकोत्तर तहका परीक्षा भदौ अन्त्यमा शुरु गर्ने तयारी गरेको थियो। तर, कोरोनाभाइरस संक्रमितको संख्या बढिरहँदा उक्त परीक्षा हुने/नहुने अन्यौल भएको छ। रिक्त रहेका पदपूर्ति नहुँदा अनलाइनबाट परीक्षा लिने सम्बन्धी निर्णय गर्न नसकिने सह–परीक्षा नियन्त्रक पुष्पा पौडेलले बताइन्।
विश्वविद्यालयले स्वास्थ्य विज्ञान, मानविकी, इञ्जिनियरिङ, व्यवस्थापन गरी चार संकायको अध्यापन गराइरहेको छ। चार संकायमध्ये व्यवस्थापनमा मात्रै डिन छन्। त्यसैगरी मानविकी विभागमा मात्रै विभागीय निर्देशक छन्।
मुख्य पदाधिकारी नहुँदा विश्वविद्यालयले आधिकारीक रुपमा अनलाइन कक्षा समेत संचालन गर्न सकिरहेको छैन। परीक्षाको विषयमा छलफल गर्न परीक्षा समिति नै बनेको छैन। रजिष्ट्रार परीक्षा समितिको अध्यक्ष र परीक्षा नियन्त्रक सदस्य सचिव हुने व्यवस्था छ। यी दुवै पद रिक्त छन्।
पोखरा विश्वविद्यालयमा अहिले ३५ देखि ४० हजार विद्यार्थी अध्ययनरत छन्। यो भद्रगोल अवस्थाले विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवाला निकाय सबैमा अन्यौल उत्पन्न भएको छ।
पदाधिकारीहरुको नियुक्त चाँडो गर्न माग राख्दै विद्यार्थी आन्दोलनरत छन्। विगत १९ दिनदेखि विद्यार्थीले रिले अनसन गरिरहेको सह–परीक्षा नियन्त्रक पौडेलले जानकारी दिइन्। तत्काल पदाधिकारी नियुक्त गर्दै विश्वविद्यालयको समस्या समाधान गर्नुपर्ने माग राख्दै नेविसंघले केन्द्रीय कार्यालयको गेटमा रिले अनसन गरिरहेको छ।