सिन्धुपाल्चोकलाई चीनबाट स्वास्थ्य सामग्री सहयोग
चीनको तिब्बत, नेलम काउन्टीले सिन्धुपाल्चोकलाई ठूलो मात्राको स्वास्थ्य सामग्री प्रदान गरेको छ। नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका लागि दुई हजार आठ सय थान पिपिइ सहित पाँच हजार मेडिकल ह्याट तथा सुज कभर र दुई हजार थान पञ्जा सहयोग गरेको हो।
आइसोलेसन मास्क दुई हजार थान तथा एन नाइन्टीफाइफ मास्क र मेडिकल मास्क पनि पाँच हजार थान दिइएको छ।
चिनियाँ सरकारले सिन्धुपाल्चोककै प्रयोगका लागि भिटिएम दुई हजार थान र पिसिआर रिएजेन्ट दुई हजार थानसमेत सहयोगस्वरुप उपलब्ध गराएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। जिल्लामा कोरोना महामारीले उच्च रुप लिँदै गरेका अवस्थामा नेलम काउन्टीले गरेको यो सहयोग अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै प्रजिअ ढकालले यो अहिलेसम्म नेलम काउन्टीले गरेकोमध्येकै ठूलो सहयोग भएको उल्लेख गरे।
नेलम काउन्टीका समकक्षीसँग आफुले भाइचाराको सम्बन्ध विस्तार गरेका कारण यती धेरै सँख्यामा प्राप्त पिपिइ सेट तथा स्वास संकलन गर्ने सामग्री र पिसीआर रिएजेन्ट समेत सहयोग पाँउदा जिल्लालाई ठुलो राहत मिलेको ढकालले बताए।
यसअघि पनि विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको नेलम काउन्टीले यसपछि पनि टेन्ट र खाद्यान्न सहयोग गर्ने आश्वासन दिएको उनले बताए।