प्रदेश-१ की सांसद श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि
प्रदेश-१ की सांसद कुसुम श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ। २४ साउन स्वाब दिएको र आज रिपोर्ट पोजिटिभ आएको श्रेष्ठले बताइन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा केही बेर अघि स्टाटस लेख्दै आफू पोजिटिभ भएको भन्दै आफूसँग एक हप्ता यता सम्पर्कमा रहेकाहरुले सचेतता अपनाउन पनि आग्रह गरेकी छिन्।
हिमालखबर सँगको कुराकानीमा उनले भनिन्, "म र श्रीमान दुवैको स्वाब दिएका थियौं। दुवैको पोजिटिभ आएछ, चिकित्सकसँग सल्लाह गर्दैछौं, अहिले लक्षण वा कुनै स्वास्थ्य समस्या भने छैन।”
२० साउनमा हल्का टाउको दुख्ने र ज्वरो आउने जस्तो भएर जाँच गराएकाे उनले बताइन्। "त्यस्तो धेरै ठाउँ त हिंडेको पनि थिइनँ, संसद बैठक छैन", उनले भनिन्।
उनी १२ साउनमा काठमाडौं आएकी थिइन् भने भोलिपल्ट सिंहदरबार गएकी थिइन्। १६ साउनमा सांसद श्रेष्ठ धनकुटा फर्किएकी थिइन्।