बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत दुई जनाको मृत्यु
बुटवलको कोरोना विशेष अस्पतालमा भर्ना भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ। तीमध्ये एक जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो।
कोरोना अस्पतालका फोकलपर्सन डा. सुदर्शन थापाका अनुसार कपिलवस्तु जिल्लाका ४२ र २५ वर्षीय पुरुषको मृत्यु भएको हो। तीमध्ये ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो। २५ वर्षीय पुरुषको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ।
४२ वर्षीय पुरुष २५ साउनमा अस्पताल भर्ना भएका थिए भने २५ वर्षीय पुरुष हिजो मात्र भर्ना भएका थिए। अस्पताल ल्याउँदा दुवै जनाको स्वास्थ्य अवस्था गम्भीर थियो। उनीहरुको भेण्टिलेटरमा राखेर उपचार गरिए पनि सफल नभएको डा थापाले बताए। उनका अनुसार दुवै जनामा कुनै दीर्घरोग भएको जानकारी थिएन।
कोरोना विशेष अस्पतालमा २२ जना उपचाररत छन्। तीमध्ये ६ जनाको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ। बाँकी १६ जनाको स्वास्थ्य अवस्था सामान्य छ।