जनकपुरका पूर्व मेयर गिरीको निधन
मेडिसिटी अस्पताल ललितपुरमा उपचार गराइरहेका जनकपुरधामका पूर्व मेयर कृष्ण गिरीको निधन भएको छ। उनको गए राति १२ बजे निधन भएको हो।
७२ वर्षीय गिरीलाई मस्तिष्कघात भएपछि ९ साउनमा मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। जनकपुरमा नै मस्तिष्कघात भएका उनलाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको थियो।
मेडिसिटीस्थित सघन उपचार कक्ष (आईसीयू) मा उनको उपचार भइरहेको थियो। उपचारका क्रममा उनलाई कोरोनाभाइरस संक्रमणसमेत भएको पत्ता लागेको थियो।
उनी जनकपुरको होटल रामाका सञ्चालक पनि थिए। उनका श्रीमती र दुई छोरा छन्।