प्रदेश ५ मा सरकारी मेडिकल कलेज आयोजनाको उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ को रूपन्देहीस्थित तिलोत्तमा नगरपालिकामा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको शुक्रबार उद्घाटन गरेका छन् ।
सरकारको एक प्रदेश एक मेडिकल कलेजको अवधारणा अनुरूप सो कलेज बन्न लागेको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार विकास निर्माणमा सरकार गम्भीर ढङ्गले लागेको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘जनता सधैँ पीडामा बस्ने होइन, अब खुशी र सुखी बन्न पाउनुपर्छ । अब त्यो आत्मविश्वास लिएर अगाडि बढ्न जरुरी छ ।’
प्रधानमन्त्री ओलीले सरकारले गरेको राम्रा कामको प्रचार गर्नुको साटो केही मिडियाले गलत प्रचार गरेको बताए ।
'आँखा चिम्लेर सरकारको विरोध गरिएको छ, आँखा खोल्दा जताततै विकास र समृद्धि देखिन्छ, यसमा केही मिडिया र केही बुद्धिजीवी सहभागी छन्’, उनले भने, ‘सिके राउतसँगको सहमतिले विखण्डनको अन्त्य भयो भनेर समेत विरोध भयो, अरुको के कुरा ।’
सरकारविरुद्ध भएका गलत प्रचार र भ्रममा नपर्न उनले सबैमा अनुरोध गरे ।
उनले तिलोत्तमामा निर्माण हुन लागेको मेडिकल कलेज सुविधासम्पन्न र स्तरीय सेवा प्रदान गर्ने किसिमले स्थापना गर्न जरुरी रहेको धारणा राखे।
उनले भने, ‘रोगको निदान र उपचारका लागि अन्धविश्वास नराखी वैज्ञानिक पद्धति अपनाउनुपर्छ ।’
कतिपयले विदेशी सहयोग आउँदैन भनेर हल्ला चलाउन थालेको भन्दै उनले नेपाल मगन्तेहरूको देश नभएकाले आफ्नै देशका प्राकृतिक स्रोत सदुपयोग गरेर समृद्ध मुलुक बनाइने बताए ।
प्रधानमन्त्री ओलीले खनिज, पेट्रोल, फलाम, सुन जस्ता खानी रहेकाले नेपाल आफैंमा सम्पन्न राष्ट्र भएको तर्क गरे । सरकारी मेडिकल कलेज ठूलो आयोजना भएको भन्दै उनले यसलाई सफल बनाउन सबैको सहयोग हुनुपर्नेमा जोड दिए ।
विभिन्न कारणले रोग बढिरहेका उल्लेख गर्दै सरकार रोगहरू बढ्न नदिने प्रयासमा पनि लागेको बताए । दूषित पानी, पोषणयुक्त खानाको अभावमा, गर्भावस्थादेखि नै कुपोषणको शिकार, असन्तुलित, अस्वस्थ खानाले रोग बढेका भन्दै प्रधानमन्त्रीले स्वस्थ आहार विहारमा रहन आग्रह गरे ।
सो अवसरमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जनतालाई स्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि सरकारले ‘एक प्रदेश एक मेडिकल कलेज’ को अवधारणा अगाडि सारेको बताए । उनले भने, ‘यो एउटा सन्तानका रूपमा तिलोत्तमाको आँगनमा निर्माण हुँदैछ, यसलाई सबैले आफ्ना सन्तानका रूपमा माया गर्नु जरुरी छ ।’
महासचिव पौडेलले प्रदेशमै स्वास्थ्योपचारका क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति तयार गर्न मेडिकल कलेज महत्वपूर्ण सावित हुने बताए ।
तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको काम समयमै पूरा गर्नतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।
तिलोत्तमा नगरपालिका– १ र ८ मा पर्ने शंकरनगर र करिहया सामुदायिक वनको २ सय बिघा जग्गामा मेडिकल कलेज बन्ने छ ।
योजना अनुसार मेडिकल कलेज त्रिभुवन विश्वविद्यालयको आंगिक कलेजको रूपमा स्थापना हुनेछ ।
त्यसका लागि करिब १० अर्ब खर्च हुने पूर्वानुमान गरिएको छ । डीपीआर लगत्तै २ सय बिघा क्षेत्रफलमा तत्काल २ वटा ठूला भवन बन्ने जनाइएको छ।