काठमाडौं उपत्यकासहित २०० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित भएका जिल्लामा बन्द हुनेछन् यी सेवा
सरकारले काठमाडौं उपत्यकासहित २०० सयभन्दा बढी सक्रिय कोरोना संक्रमित भएका जिल्लाका सार्वजनिक सेवाहरू बन्द गर्ने निर्णय गरेको छ।
त्यस्ता ठाउँहरूमा सरकारी तथा गैरसरकारी कार्यालय, ब्यांक तथा वित्तीय संस्थालगायत जनतासँग प्रत्यक्ष सम्पर्कमा रही सेवा दिने कार्यालयहरूले विद्युतीय माध्यमबाट सेवा प्रवाहको व्यवस्था मिलाउनु पर्ने भएको छ।
ती निकायहरूको कार्यसम्पादन एवं सेवा प्रवाहका लागि बढीमा ५० प्रतिशत कर्मचारी कार्यालयमा आलोपालो गरी उपस्थित हुने र अन्यलाई घरबाटै काम गर्ने व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउनुपर्ने छ।
हिजो बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चार र सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले दिएको जानकारी अनुसार दुई सयभन्दा बढी संक्रमित भएका जिल्ला र उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सावधानी अपनाउनुपर्ने बताए।
सावधानी निम्नानुसार छन् :
- अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट प्रवाह गर्न नसकिने सेवा र बढी जनसम्पर्क हुने कार्यहरू अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्नुपर्नेछ। सेवा प्रवाह र जनशक्ति व्यवस्थापनको जिम्मेवारी जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको समन्वयमा सम्बन्धित कार्यालय प्रमुखको हुने भनिएको छ।
- होटल तथा रेष्टुराँहरूले पकाएका परिकार लैजाने सेवा मात्रै सञ्चालन गर्न पाउने।
- भदौ १५ गतेसम्म विद्यार्थी भर्नाका कार्यक्रम रोकिएको छ।
- शैक्षिक संस्था (विद्यालय, क्याम्पस, ट्युसन सेन्टर र तालिम केन्द्र) हरू अर्को सूचना जारी नहुँदासम्म खोल्न नपाइने।
- धर्मिकस्थलहरूमा दैनिक पूजा बाहेक अन्य गतिविधि संचालन नगर्ने।
- चाडपर्वहररू आ आफ्नै घरभित्र परिवारका सदस्यहरूले स्वास्थ्य मापदण्ड अपनाएर मनाउने।
- सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन गर्न नपाइने।
- सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायत मनोरञ्जन स्थल, स्पा, जिमखाना तथा हेल्थ क्लबहरू खोल्न नपाइने
- सैलून, ब्यूटीपार्लर, स्वीमिङ, समूहमा खेलिने खेलकुद, धार्मिक तथा सामाजिक स्थल, पुस्तकालय, चिडियाखाना बन्द नै गर्नुपर्ने र कसैले खोलेमा कारबाही हुने।
- ठेलागाडा, फुटपाथ वा खुला ठाउँमा संचालन गरिने तरकारी तथा फलफूल र लत्ता कपडा - पसलहरु सञ्चालनमा स्थानीय प्रशासन/स्थानीय तहले निषेध गर्ने।
- उद्योग कलकारखानाहरूले अन्यत्रबाट कामदार नल्याउने, काम गरिरहेकाहरूलाई जनस्वास्थ्य र सुरक्षाको मापदण्ड अवलम्बन गराउने, भविष्यमा आउने जोखिमका लागि उद्योग व्यवसायहरुले आफ्नो क्षेत्र भित्र आवश्यक क्वारेन्टिन र आइसोलेसन जस्ता पूर्वाधारको व्यवस्था गर्ने।
- नेपाल भारत आवागमनका लागि तोकिएका १० नाकाबाट किनमेलका लागि आवतजावत गर्न नपाइने।