रुकुम घटनाका मृतकका परिवारलाई सरकारले १० लाख दिने
सरकाले १० जेठमा रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका ८ मा भएको घटनामा परी मृत्यु भएकाको परिवारलाई प्रति परिवार रु १० लाखका दरले आर्थिक सहायता दिने भएको छ।
हिजो बसेको मन्त्रिपरिषदको निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चार र सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले मृतकका परिवारलाई सो रकम उपलब्ध गराउने र घाइतेको उपचारमा लाग्ने खर्च बिल बमोजिम सरकारले व्यहोर्ने जानकारी दिए।
मृतकहरू नवराज बिक, गणेश बुढा मगर, लोकेन्द्र सुनार, संजीव बिक, गोविन्द शाही र टिकारम सुनारका परिवारलाई सो रकम उपलब्ध गराइने भएको हो।
त्यस्तै १२ जना घाइतेहरूको उपचारमा लागेको खर्च बिल बमोजिम सरकारले उपलब्ध गराउने निर्णय पनि हिजोको मन्त्रिपरिषद बैठकले गरेको मन्त्री खतिवडाले जानकारी दिए।