भारतबाट नेपाल प्रवेशका लागि १० वटा नाका मात्रै खुल्ने
सरकारले भारतबाट नेपाल आउने नेपालीका लागि १० नाका मात्रै खुला गर्ने निर्णय गरेको छ। यसअघि २० नाकाबाट प्रवेश अनुमति दिइएकोमा अहिले घटाएर आधा मात्रै बनाइएको हो।
हिजो बसेको मन्त्रिपरिषदको निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चार र सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले १० वटा सीमानाकाबाट मात्रै प्रवेश पाइने बताए।
मन्त्रिपरिषदको निर्णय अनुसार अब खुल्ने नाकाहरूमा झापाको काँकडभिट्टा, मोरङको रानी, सिरहाको मार्डर, रौतहटको गौर, पर्साको वीरगन्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाहा, कैलालीको गौरिफन्टा र कञ्चनपुरको गड्डाचौकी रहेका छन्।
कोरोना भाइरसको संक्रमणको असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा यी नाका खुला रहने र यो राजपत्रमा प्रकाशित हुने मन्त्री खतिवडाले बताए।