चार वर्षदेखि प्रमुख नतोकिंदा सहयोगीको भरमा इलाका कार्यालय
मुगु जिल्लाको सोरु गाउँपालिकाको सोरुकोट इलाका प्रशासन कार्यालय गएको चार वर्षदेखि प्रमुखविहीन अवस्थामा छ। २०७२ सालमा स्थापना गरिएको इलाका प्रशासन कार्यालय चार वर्षयता दुईजना कार्यालय सहयोगीको भरमा चल्दै आएको छ।
स्थानीयलाई नागरिकता उपलब्ध गराउन र अन्य प्रशासनिक कामको लागि सहजताको निम्ति स्थापना गरिएको उक्त इलाका प्रशासन कार्यालयमा चार बर्षदेखि प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन।
कार्यालमा प्रमुख नहुँदा गाउँपालिका अन्तर्गतका नेर, फोतु, लिब्रु, नार्थपु, जिमा, भीई, धैनकोट, खनाया, सिड्डी, कालै, गिलाह, रुम, सोरुकोट, पुरुमुरु, सिप, लगायतका दर्जनौ बस्तीका स्थानीय वाासी नागरिकता लिन र अन्य प्रशासनिक काम काजको लागि दुई दिन पैदल हिँडेर गमगढी पुग्न बाध्य भएका छन।
कार्यालय स्थापना भएको एक वर्षसम्म सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा दिलबहादुर पौडेल बसेर स्थानीयलाई नागरिकता प्रदान गर्ने काम गरेपनि उनी सरुवा भएर गएपछि मन्त्रालयले लामो समयदेखि अर्को ब्यावस्था गरेको छैन। त्यसपछि कार्यालयमा अधिकृत मात्रै होयन अन्य सहायक स्तरका कर्मचारी पनि त्यहाँ गएका छैनन्।
उक्त इलाका कार्यालयमा अधिकृत १, नायब सुब्बा १, खरीदार २, सह.लेखापाल १ र कार्यलय सहयोगी २ जनाको दरबन्दी छ। तर गएको चार वर्षदेखि २ जना कार्यालय सहयोगी बाहेक अन्य कर्मचारीको उपस्थिति छैन।
सोरु गाउ“पालिका अध्यक्ष लोकबहादुर शाहीका अनुसार कार्यालय प्रमुखको ब्यवस्था गरिदिन जिल्ला प्रशासन कार्यालयमा बारम्बार आग्रह गर्दा पनि कुनै सुनुवाइ भएको छैन।
जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौला गृह मंत्रालयले सुनुवाई नगर्दा मान्छे खटाउन नसकिएको बताउँछन्।
दुर्गम ठाउँमा अधिकृतहरु आउन नमान्ने र माथिल्लो निकायसंग माग गर्दा कुनै सुनुवाइ नहुने हुँदा इलाका प्रशासनबाट सेवा सुचारु गर्न समस्या भएको उनले बताए।
अच्युतराज भण्डारी, मुगु