सांसद प्रदीप यादव कोरोना संक्रमणमुक्त, भन्छन्- 'खानपान र व्यायाममा ध्यान दिएँ'
कोरोनाभाइरसको संक्रमण भएका प्रतिनिधि सभाका सांसद प्रदीप यादव संक्रमणमुक्त भएका छन्। दोस्रो पटक पीसीआर परीक्षण गराउँदा नेगेटिभ रिपोर्ट आएको यादवले जानकारी दिए।
चिकित्सकको सल्लाहमा वीरगञ्जस्थित घरमै आइसोलेसनमा बसेका यादव १२ दिनपछि कोरोना संक्रमणमुक्त भएका हुन्। यस अवधिमा खानपान र व्यायाममा ध्यान दिएको उनले बताए।
सामाजिक सञ्जाल फेसबूकमा आफ्नो नेगेटिभ रिपोर्ट राख्दै डाक्टरको सुझाव अनुसार अझै एक साता आफू आइसोलेसनमा बस्ने उल्लेख गरेका छन्।
संक्रमणबाट बच्न अरुलाई सुझाव दिंदै फेसबूक स्टाटसमा उनले लेखेका छन्, “मास्क, स्यानिटाइजर प्रयोग गरौं, दूरी कायम गरौं, कोरोना संक्रमित भइहालेमा भयभीत नभई उच्च मनोबलका साथ स्वयम् अनुशासित भएर डाक्टरको सल्लाह अनुसार गर्यौं भने कोरोनालाई जित्न सकिन्छ।”