कोरोना असर: दैलेखमा ४ महीनामा २३ जनाले गरे आत्महत्या
नेपालमा बन्दाबन्दी शुरु भएसँगै आत्महत्याको दर बढेको छ। दैलेखमा मात्र यो ४ महीनाको अवधिमा २३ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ। आत्महत्या गर्नुको मुख्य कारण मानसिक तनाव रहेको प्रहरीले जनाएको छ।
दुल्लु नगरपालिका–१० गमौडीका एक युवकले गएको १० असारमा आत्महत्या गरे। उनी भारतको अहमदावादबाट ११ जेठमा गाउँ आएका थिए।
भारतबाट फर्किएपछिती युवक १४ दिनसम्म क्वारेन्टिनमा बसेका थिए। क्वारेन्टिनबाट फर्किएको १६ दिनपछि झुण्डिएको अवस्थामा ती युवकको शव फेला परेको थियो। आत्महत्यापछि स्वाब संकलन गरी गरिएको पीसीआर परिक्षणमा ती युवकमा कोरोना पोजेटिभ देखिएको थियो।
यो प्रतिनीधिमुलक घटना मात्रै हो। कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको बन्दाबन्दीका बेला ठूलो संख्यामा आत्महत्याका घटनाहरू भएका छन्।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक उपेन्द्रप्रसाद आचार्यका अनुसार बन्दाबन्दीको अवधिमा २३ जनाले आत्महत्या गरेको र धेरैजसो मानसिक तनावका कारण आत्महत्या गर्न बाध्य भएको बुझिएको छ।
आत्महत्या गर्नेमा महिला भन्दा पुरुष बढी छन्। घरेलु हिंसा, मानसिक तनाब, आर्थिक अभाव लगाएतका कारण आत्महत्या गर्ने गरेको प्रहरीको भनाइ छ। मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुले समेत आत्महत्या गरेको दैलेख प्रहरीले जनाएको छ।
आत्महत्या रोक्न जिल्ला प्रहरी कार्यालय दैलेखले ठोस कदम चाल्ने जनाएको छ। आत्महत्या रोक्न विशेष कार्य योजना बनाएर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने प्रहरीको योजना छ।
११ चैत २०७६ बाट शुरू भएको बन्दाबन्दी ७ साउन २०७७ मा अन्त्य भएको थियो। यो अवधीमा दैलेखमा कोरोनाबाट ३ जनाको मात्र मृत्यु भएको छ।
यज्ञराज थापा, दैलेख