नारायणघाट–बुटवल सडक चार लेनकाे बन्ने
बुटवलदेखि नारायणघाटसम्मको सडक अब चार लेनमा स्तरोन्नति हुने भएको छ ।
एशियाली विकास बैंकको रु १५ अर्ब ऋण सहयोगमा ११४ किमी सडक स्तरोन्नति हुन लागेको हो ।
साढे तीन वर्षमा सम्पन्न हुनेगरी गत पुसमा ठेक्का सम्झौता भएको सडकको प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुटवलमा शिलान्यास गर्नेछन् ।
दुई खण्ड रहने उक्त सडकको पहिलो खण्ड गैँडाकोट–दाउन्ने ६५ किमी र दोस्रो खण्ड दाउन्ने–बुटवल ४८ किमी रहने आयोजना निर्देशनालय (एडिबी) का उपआयोजना निर्देशक सुरेश पौडेलले बताए ।
दुवै खण्डको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सनले पाएको छ ।
निर्माण सम्पन्न भएको चार वर्षसम्म निर्माण व्यवसायीले नै मर्मतसम्भार गर्नुपर्ने गरि सम्झौता भएको उपआयोजना निर्देशक पौडेलले बताए ।
हाल डिजाइनको काम गरिरहेको निर्माण व्यवसायीले दुई महीनामा भौतिकरुपमै सडक स्तरोन्नतिको काम शुरु गर्ने जनाएको छ ।