कोरोनाका कारण जन्माष्टमीमा सुनसान छ पाटन कृष्ण मन्दिर
काेरोनाभाइरस संक्रमणको जोखिमका कारण यसपटक कृष्णजन्माष्टमीमा पाटन कृष्ण मन्दिर सुनसान छ। मन्दिर बन्द गरिएका कारण आज फाट्टफुट्ट भक्तजन मात्र त्यहाँ पुगेका छन्।
गएको २४ साउनमा ललितपुर महानगरपालिका र मंगलटोल मंगलबजारले संयुक्त विज्ञप्ति प्रकाशित गरी कृष्णजन्माष्टमीमा मन्दिर बन्द हुने जनाएका थिए। मन्दिरमा विधिपूर्वक पूजा भने गरिएको छ। महानगरपालिका र मंगलटोलले जारी गरेको विज्ञप्तिमा सबै भक्तजनलाई परम्परा कायम राख्न आज घरैमा विधिपूर्वक पूजा गर्न आग्रह गरिएको थियो।
संस्कृतिविद् सत्यमोहन जोशीले आफूले थाहा पाएदेखि पहिलो पटक कृष्णजन्माष्टमीको दिन मन्दिर बन्द भएको बताएका छन्। जोशीले हिमालखबरसँग भने “योभन्दा अघि मैले कृष्णजन्माष्टमीको दिन मन्दिर बन्द भएको थाहा पाएको छैन। भएको पनि थिएन होला।” महामारी फैलिएको वेला मन्दिर बन्द गर्नु सकारात्मक रहेको उनी बताउँछन्।
यो मन्दिर राजा सिद्धिनरसिंह मल्लका पालामा बनेको हो। २०७२ सालको भूकम्पले मन्दिरमा आंशिक क्षति भएको थियो। त्यहीकारण २०७३ र २०७४ को कृष्णजन्माष्टमीमा बाहिरबाटै मन्दिर परिक्रमा गरी पूजा गर्ने व्यवस्था गरिएको थियो। मर्मतपछि दुई वर्षअघिदेखि मन्दिरभित्र पसेर दर्शन गर्न दिइएको थियो।
यसपटक कोरोना संक्रमणको जोखिम रहेको भन्दै ललितपुर महानगरपालिकाको सामान्य प्रशासन महाशाखा, ललितपुर गुठी संस्थान र मंगलटोल सुधार संघले मन्दिर बन्द गर्ने निर्णय गरेको गुठी संस्थानका कर्मचारी रोशन ढुंगानाले बताए।