डोटीमा पुरानो घर भत्किँदा परिवारका चार जनाको मृत्यु, पाँच घाइते
डोटीको आदर्श गाउँपालिका १ बाँझककनीमा घर भत्किँदा परिवारका चार जनाको मृत्यु भएको छ। अरु पाँच जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार स्थानीय लोगे विकको घर भत्किँदा उनकी श्रीमती, दुई छोरी र एक छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा श्रीमती विष्ना, १२ वर्षीय छोरा पारस तथा छोरीहरु ८ वर्षीया सिर्जना र ४ वर्षीया जेनिशा छन्।
ढुङ्गा र माटोको गाह्रोले बनाएको घर पुरानो भएर भत्किएको मल्लले बताए। उक्त ठाउँमा पानी परिरहेको छ।
तीन तले घरको भुईं तलामा चौपाया थिए। घर भत्किँदा दुई वटा गोरु, एउटा गाई र दुई वटा बाख्रा पनि थिचिएका छन्।
घरधनी लोगे, उनकी आमा र एक छोरी घाइते छन्। यस्तै पाहुना आएकी सासु र साला पनि घाइते छन्। उनीहरुको उपचारका लागि सदरमुकाम दिपायल लगिँदैछ।
घर राति १ बजे भत्किएको हो। वडाध्यक्षले बिहान ३ बजे प्रहरीलाई खबर गरेका थिए। बिहान ५ बजे स्थानीय चौकीबाट प्रहरी घटनास्थल पुगेको मल्लले जानकारी दिए।