सडक खन्दा घैंटोमा राखेका चाँदीका सिक्का फेला परे
बर्दियाको बारबर्दिया नगरपालिका–६ सोनपुरमा सडक खन्ने क्रममा चाँदी र तामाका सिक्का फेला परेको छ ।
प्रहरी नायब उपरीक्षक मदनजित महराले माटोको घैंटोमा राखिएको ५४ मिलिग्राम बराबरको पाँच थान चाँदीका सिक्का र सात केजी दुई सय ग्रामको तामाको सिक्का फेला परेको बताए ।
चाँदीका केही सिक्का गाउँलेले लुकाएको पनि प्रहरीले जनाएको छ ।
स्काभेटरले खन्दा करीब तीन फिट गहिराइमा फेला परेका ती सिक्का १३ औँ देखि १७ औँ शताब्दीको मुगलकालीन शासनकालका सिक्का हुनसक्ने प्रहरीले जनाएको छ ।
कतिपयले भने ‘नयाँ मुलुक’ बर्दियामा मुगल शासनकालमा चोरी डकैतीका त्रासले माटोमुनि ती सिक्का गाडिएको हुनसक्ने अनुमान गरेका छन् ।
तामा र चाँदीका सिक्का अनुसन्धानका लागि पुरातात्विक विभागमा पठाइएको प्रहरीले जनाएको छ ।