श्याम सुन्दरी
एउटी काली बालिका कालोपनको ठूलो खाडलबाट मुक्त भई आफ्ना नीला आँखाले संसार हेर्न चाहन्छिन्– नोबेल पुरस्कार विजेता अमेरिकी साहित्यकार टोनी मोरिसनले सन् १९७० मा प्रकाशित उपन्यासमा ‘द ब्लुएष्ट आई’ मा लेखेकी छन् ।
‘प्रिटी फर डार्क स्किन ?’ भन्दै अप्रिल २०१६ मा बेलायती कलाकार प्रिन्सेस् लतिफाले यूट्यूबमा दुई मिनेट लामो कविता पोष्ट गरेकी छन् । उनको कविताको प्रश्न छ– किन काली सधैं राम्री मात्रै र गोरी सधैं सुन्दरी ?
काठमाडौं, म्हैपीमा जन्मेहुर्केकी नम्रता ठाकुर (२४) को अनुभव पनि फरक छैन । पाँच वर्षअघि राजधानीमा आयोजित ‘सुन्दरी प्रतियोगिता’ मा भाग लिने मनसाय व्यक्त गर्दा उनलाई धेरैले ‘राम्री त छ्यौ तर सुन्दरी ?’ भनेको हिजै जस्तो लाग्छ । तर, उनी विचलित भइनन् ।
गोरो छाला नै सुन्दर, सभ्य र सम्पन्नताको बिम्ब मान्न नछाडिएको समयमा आज उनै ‘डार्क स्किन’ नम्रता कम्तीमा आठ वटा म्यागेजिनको ‘कभर गर्ल’ बनिसकेकी छिन् । र्याम्प र छापा विज्ञापनमा परिचय दिइसकेकी छन् । मोडलिङकी विशेष अनुहारका रुपमा उनको खोजी हुन्छ । “मोडलिङ छालाको रंगले होइन, व्यक्तित्व, असल आचरण र आत्मविश्वासले गरिने हो भन्ने लाग्न थालेको छ”, नम्रता भन्छिन् ।
त्यसो त मधेशी मूलको नारी अनुहार मूलधारको मोडलिङको आम अनुहार पनि होइन । तर, नेपाली कांग्रेसको राजनीति गरिरहेका अनिरुद्रप्रसाद–पार्वती ठाकुर दम्पतीले छोरी नम्रतालाई परम्परामै सीमित राख्न चाहेनन् । “फेसन, मोडलिङबारे मधेशी समाज संकीर्ण छ भनेर मैले पनि सुनेकी मात्र हुँ, अनुभव गर्नु पनि परेको छैन”, उनको भनाइ छ ।
मोडलिङ बजारमा ‘डस्की डिभा’ बनेकी नम्रता श्यामवर्णकै कारण चर्चित छिन् । “काली भएकै हुनाले मोडलिङप्रतिको रहर त्याग्नुहुन्न”, आफूजस्तै रंग भएका थुप्रै युवतीलाई नम्रताको आग्रह छ, “संकीर्ण सोचाइसँग संघर्ष गर्नुपर्छ, निरुत्साहित हुनुहुन्न ।”