प्रयोगमै आएन प्रदेश–५ को सभाले झण्डै २० लाख खर्चेको सफ्टवेयर
प्रदेश–५. प्रदेश सभा सचिवालयले संसद व्यवस्थापन प्रक्रियालाई कम्प्युटरीकृत गर्ने योजना अनुसार झण्डै रु.२० लाख खर्चेर खरीद गरेको सफ्टवेयर उपयोग हुनसकेको छैन। त्यही कारण प्रदेश सभालाई ‘पेपर लेस’ बनाउने योजना अलपत्र छ।
प्रदेश सभा सचिवालयले गभर्नेन्स अटोमेसन सोलुसन प्रालि मानभवन ललितपुरबाट रु.१९ लाख ५१ हजार ७९३ मा सफ्टवेयर खरीद गरेको थियो। उक्त कम्पनीलाई खरीद बापतको रकम प्रदेश सभा सचिवालयले भुक्तानी पनि दिइसकेको छ। तर, सचिवालयमा अहिलेसम्म पनि विधेयक दर्तादेखि प्रमाणीकरणका सम्पूर्ण काम पुरानै शैलीमा भइरहेको छ।
प्रदेश सभा सचिवालयका प्रवक्ता श्याम श्रेष्ठ विधेयक दर्तादेखि प्रमाणीकरणसम्मको प्रक्रिया सांसदहरुलाई एपमार्फत स्वतः जानकारी गराउन सफ्टवेयर राखिएको बताउँछन्। त्यस्तै सफ्टवेयरमार्फत विधेयक र प्रदेश सभा सञ्चालन लगायत कामलाई ‘पेपर लेस’ बनाउने योजना पनि छ। सफ्टवेयर सञ्चालनका लागि कर्मचारीलाई तालिम भने दिइएको छैन।
प्रवक्ता श्रेष्ठ भने सफ्टवेयर सञ्चालनको प्रक्रियामा रहेको दाबी गर्छन्। श्रेष्ठ भन्छन्, “सञ्चालनको प्रक्रियामै छ, बन्दाबन्दीले केही असर गरेको हो।” तर, खरीद गरिएको सफ्टवेयर सञ्चालन नहुँदै चालु आर्थिक वर्षका लागि पनि प्रदेश सभाले स्तरोन्नतिका लागि रु.५ लाख छुट्याएको छ।
संघीय सरकारले कोरोनाभाइरस महामारीका कारण खर्च घटाउन आग्रह गरेको छ। तर, प्रदेश सभाले भने अनावश्यक काममा पनि बजेट छुट्याएको छ। प्रदेश सभाले विज्ञहरुको अन्तरक्रियाका लागि रु.१८ लाख, प्रदेश सभा र समितिहरुको गतिविधि समेट्ने रेडियो कार्यक्रम उत्पादन तथा प्रसारणका लागि रु.२० लाख ५० हजार छुट्याएकाे छ। त्यसैगरी स्थानीय जनप्रतिनिधिको अभिमत लिने सफ्टवेयर प्रणाली तथा मोबाइल एप्लिकेशन निर्माणमा रु.१५ लाख, पुस्तकालय सम्बन्धी सफ्टवेयर निर्माण तथा जडानमा रु.५ लाख छुट्याइएको छ।
माइकमा मात्र साढे दुई वर्षमा रु.४३ लाख खर्च
प्रदेश सभा गठन भएको दुई वर्ष ६ महीनामा प्रदेश सभा सचिवालयले झण्डै रु.४३ लाखका माइक तथा उपकरण खरीद गरेको छ।
प्रदेश सभा भवनका लागि शुरु वर्ष २०७४/७५ मा रु.१३ लाख ४९ हजार ४४६ को माइक खरीद गरिएको थियो। यसमा मिक्सर, माइक, तार, ज्याक, कनेक्टर, स्पीकर थिए। सोही वर्ष रु.४ लाख ३५ हजारको माइक सम्बन्धी उपकरण पनि भाडामा लिइएको थियो।
आर्थिक वर्ष २०७५/७६ मा सभामुखको पोडियमका लागि मात्र रु.४ लाख ८० हजारका माइक खरीद गरिएको थियो। त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा रु.२० लाख ७६ हजारको माइक र त्यससम्बन्धी उपकरण खरीद गरिएको छ।
जसमध्ये प्रदेश सभा भवनका लागि रु.१४ लाख ९४ हजार ७६४ को माइक र त्यससम्बन्धी उपकरण पुनः खरीद गरिएको छ। त्यस्तै नेकपा संसदीय दलको कार्यालयका लागि रु.७६ हजार २७८ र समितिहरुको भवनका लागि रु.४ लाख ८९ हजार ९९९ का विभिन्न सामग्री खरीद गरिएको छ।