कोरोना नियन्त्रणमा सरकार असफल भएको कांग्रेसको निष्कर्ष, भन्यो- 'आफै सुरक्षित बसौं'
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस नियन्त्रणमा सरकार असफल भएकोले जनतालाई आफै सुरक्षित रहन आग्रह गरेको छ।
पार्टीको कोभिड—१९ सम्बन्धि अनुगमन समितिले कोरोना नियन्त्रणमा सरकारी संयन्त्रहरू पूर्ण रुपमा असफल भएकाले जनतालाई आफै सुरक्षीत कांग्रेसले आग्रह गरेको हो।
कांग्रेस पार्टी कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा समितिका संयोजक प्रकाशशरण महतले सरकारले सुरक्षित गर्छ भन्ने सोचेर नबस्न आग्रह गरे। ‘‘सरकारले गर्ला र हामी सुरक्षीत हौँला भनेर नबसौँ। आफूले आफैलाई सुरक्षित गर्नुपर्यो। आफैलाई सुरक्षित हुने तरिका खोज्नुपर्यो। आफ्नो सहपाटी, साथीभाइ, टोल छिमेकलाई सुरक्षित रहन र सचेतना अभियानलाई अगाडी बढाउन सबैलाई आह्वान गर्छौँ,’’ उनले भने।
महतले मास्क लगाउन, भौतीक दूरी अनिवार्य रुपमा कायम गर्न, स्यानीटाइजर प्रयोग गर्न र अनावश्यक बाहिर हिडडुल नगर्न पनि सबैमा आग्रह गरे।
उनले सरकारलाई तत्काल कोभिड नियन्त्रणको जिम्मेवारी प्रभावकारी नेतृत्वलाई दिन पनि आग्रह गरे। सरकारले स्वास्थ्य मन्त्रालयमा योग्यता, वरिष्ठता र व्यवसायिकतालाई वेवास्ता गर्दा नेतृत्व प्रभावकारी नदेखिएको उल्लेख गर्दै उनले योग्यताका आधारमा जिम्मेवारी दिन आग्रह गरे।
समितिले आवश्यक संख्यामा भेन्टिलेटर, अस्पताल बेड, आईसीयू कक्ष, अक्सिजन र अन्य स्वास्थ्य उपकरणहरूको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ।
स्वास्थ्यकर्मी र संलग्न सहयोगीहरूको हौसला कायम राख्न कोभिड—१९ जोखिम भत्ता तत्काल व्यवस्थान गर्न पनि समितिले सरकारसँग माग गरेको छ।
बन्दाबन्दी खुला भएपनि आर्थिक, सामाजिक क्षेत्रहरू पूर्ण रुपमा सूचारु हुने अवस्था नरहेकाले यी क्षेत्रमा जोखिम न्यून गर्न सरकार गम्भिर हुन समितिले आग्रह गरेको छ।
सीमा प्रवेशमा कडाई गर्नुपर्ने, सम्भावित संक्रमित ठाउँहरूको सघन अनुगमनका आधारमा परीक्षणको दायरा व्यापक बनाउनुपर्ने माग पनि कांग्रेसले गरेको छ।
साथै पूर्ण बन्दाबन्दी देशले धान्न सक्ने अवस्था नभएकाले परीक्षणको नतिजाको आधारमा संक्रमित ठाउँहरूका लक्षित बन्दाबन्दी र आइसोलेसनको व्यवस्था गर्न पनि कांग्रेसले माग गरेको छ।
खाडी देशहरूमा रोजगारी गुमाएर भिसा अवधि सकिएकाहरूलाई तत्काल स्वदेश फिर्ता गर्न र आर्थिक अभावमा रहेका नागरिकलाई सहयोग गर्न सम्बन्धित कूटनीतिक निकायलाई परिचालन गर्न पनि समितिले माग गरेको छ।