उपत्यकाका यी ठाउँमा देखिए कोरोनाका थप संक्रमित
पछिल्लो २४ घण्टामा मात्रै उपत्यकामा थप ४४ जना कोरोना संक्रमित भेटिएका छन्।
ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) अनुसार एकदेखि दुई जनाका दरले उपत्यकाका विभिन्न ठाउँमा कोरोनाका नयाँ संक्रमित भेटिएका छन्।
ईडीसीडीका अनुसार काठमाडौंको बनस्थली, बौद्ध, बुढानिलकण्ठ लगायतका स्थान र ललितपुरको हात्तीवन, लगनखेल र गोदावरीमा कोरोना संक्रमित भेटिएका हुन्।
यस्तै ईडीसीडीले दिएको जानकारी अनुसार ललितपुरको मेडीसिटि अस्पतालमा उपचाररत कोरोना संक्रमितको गए सोमबार मृत्यु भएको छ।
ईडीसीडीको तथ्यांक शाखाका कर्मचारीका अनुसार मृत्यु भएका उनलाई करिब २५ दिनअघि कोरोना संक्रमण भएको पुष्टी भएको थियो। उनी किर्तीपुरको ट्याङ्ग्लाफाँटका हुन्। मन्त्रालयका अनुसार मिर्गौलाका दिर्घ रोगी उनी गएको ३१ असारमा 'सेप्टीक सक' र निमोनिया भएर अस्पताल भर्ना भएका थिए।
सोमबार नै कोरोना संक्रमणका कारण काठमाडौंमा ७६ वर्षिया एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। स्वाँसप्रस्वाँस र शरिर दुख्ने समस्या लिएर २३ साउनमा उनी मेडिकेयर अस्पतालमा भर्ना भएका थिए।
उनलाई अस्पतालले भेन्टिलेटरमा राखेर उपचार गरिरहेको थियो । मृत्यु भएका ती व्यक्तिमा मधुमेह, उच्च रक्तचाप र निमोनियाको समस्या थियो।
सोमबार मात्र उपत्यकामा कोरोनाका ४४ जना नयाँ संक्रमित थपिएकामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ।