साफ महिला फूटबल जिते २ लाख दिने प्रदेश सरकारको घोषणा
नेपालमा पहिलोपटक आयोजना भएको साफ महिला फूटबल प्रतियोगिता जितेमा जनही २ लाखका दरले पुरस्कार दिने प्रदेश– १ सरकारले घोषणा गरेको छ ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतबहादुर कार्कीले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रतिखेलाडी रु. १ लाखका दरले प्रोत्साहन रकम दिइने र प्रतियोगितामा प्रथम भए थप रु. १ लाख दिने जनाएका छन् ।
प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा भइरहेको प्रतियोगितामा नेपाली महिला राष्ट्रिय टीमका खेलाडीको मेहनत प्रशंसनीय रहेको विज्ञप्तिमा जनाइएको छ ।
आज शहीद मैदानमा अपरान्ह ३ बजेदेखि नेपाल र भारत बीच साफ महिला फूटबलको फाइनल खेल हुँदैछ ।
यसैगरी, नेपाल समूह विजेता भएमा विराटनगर महानरपालिकाले पनि थप पुरस्कार दिने महानगरप्रमुख भीम पराजुलीले यसअघि नै घोषणा गरेका छन् ।
टिकटको मूल्य बढाएकोमा दर्शककको विरोध
फाइनल खेलमा आयोजकले टिकटको मूल्य रु. ३ सयबाट बढाएर रु. ५ सय बनाएकोमा दर्शकले विरोध जनाएका छन् ।
नेपालले फाइनल खेल्ने भएपछि आज बिहानैदेखि टिकट खरीद गर्न गएका नेपाली दर्शकले मूल्य घटाउन माग गर्दै शहीद मैदान अगाडि नाराबाजीसमेत गरेका छन् ।