व्यापारलाई खुकुलो बनाउँदै सर्लाहीमा निषेधाज्ञाको अवधि लम्ब्याइयो
गएको बुधवार (२१ साउन) देखि सर्लाहीमा जारी निषेधाज्ञाको अवधि लम्ब्याइएको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै ३२ साउनसम्म लम्ब्याएको हो।
सर्लाही जिल्लाभर लागू हुने गरी जारी गरिएको निषेधाज्ञामा खाद्यान्न तथा तरकारी पसललाई प्रत्येक दिनको २ बजेदेख साँझ ७ बजेसम्म खोल्न दिइने भएको छ। नयाँ नियम अनुसार तोकिएको समयमा भौतिक दूरी कायम राखेर व्यापार व्यवसाय गर्न सक्ने बताइएको छ।
अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्तिलाई घरबाहिर निस्कन निषेध गरिएको निषेधाज्ञाको समयमा स्वास्थ्य, विद्युत, दुरसंचार, खानेपानी, दूध, फोहोरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी, पशुपंक्षीको दाना तथा कृषि कार्यलाई पनि छुट दिएको छ।
छिमेकी मित्र राष्ट्रबाट सामग्री ढुवानी बाहेकका सबै प्रकारका आवागमन पूर्ण रुपमा निषेध गर्ने र सिमानाका पूर्ण रुपमा सिल रहनेछन्।
एम्बुलेन्स, शववाहन, दमकल, झन्डावाल सवारी साधन, कुटनैतिक नम्बर प्लेटका सवारी साधन, दूध, पानी ओसारपसारका सवारी साधन, लामो दुरीका मालसामान ढुवानीका साधन, अत्यावश्यक सेवा संचालनका लागि खटिएका जनशक्तिले प्रयोग गर्ने सवारी साधन, सुरक्षा निकायका सवारी साधन तथा अत्यावश्यक कार्यका लागि जिल्ला प्रशासन कार्यालयबाट सवारी पास प्राप्त सवारी साधनबाहेक अन्य सबै निजी, सार्वजनिक तथा एवं सरकारी साधनहरू संचालन गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।
निषेधाज्ञा आदेशको अवज्ञा गर्ने तथा निषेधाज्ञाको कार्यान्वयनमा विरोध वा अवरोध गर्नेलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कडा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी गराएका छन्।
सञ्जय मित्र, रौतहट