काठमाडौंका मेयर शाक्य भन्छन्- "उपत्यकामा कोरोना नियन्त्रण गर्न सबै नाका सिल गर्नुपर्छ"
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकाका सबै नाकालाई सिल नगरेसम्म उपत्यकाभित्र संक्रमण नियन्त्रणमा नआउने बताएका छन्।
उपत्यकामा समुदायस्तरमा संक्रमण अझै पनि कम देखिएको र यसलाई नियन्त्रण गर्न सबै नाकामा सिल गर्नुपर्ने मेयर शक्यले बताए।
शाक्यले उपत्यकामा समुदायमा भन्दा बाहिरी जिल्लाबाट आएका व्यक्तिमा संक्रमण देखिएकाले त्यसलाई नियन्त्रण गर्न नाकामा सिल गर्नुपर्ने तर्क गरे।
अहिले नै सिल नगर्ने हो भने संक्रमण नियन्त्रण भन्दा बाहिर जान सक्ने भन्दै उनले उपत्यकामा संक्रमण फैलियो भने रोक्न धेरै गाह्रो हुनसक्ने बताए।
"यहाँ घना बस्ती छ। एउटै घरमा धेरै व्यक्तिहरू बस्छन्, घरधनी एकजना छ भने त्यही घरमा बहालमा बस्नेहरू धेरैजना छन्। एउटै कोठामा धेरै व्यक्ति बसेका छन्। यहाँ बिजनेस कम्प्लेक्सहरु धेरै छन्। यहाँ बजार धेरै छ। बजारमा आवतजावत गर्दा एकव्यक्ति र अर्को व्यक्ति ठोकिने सम्भावना धेरै छ," उनले भने।
उनले शुरुमा नै उपत्यका सिल गरेर यहाँ रहेका ४० लाख व्यक्तिमा खुकुलो गर्ने तर केही व्यक्तिलाई काठमाडौंभित्र छिराउँदा शान्त तलाउमा ढुंगा हानेजस्तो हुने भनेर सल्लाह दिएको स्मरण गरे।
सरकारले बन्दाबन्दी खोले पनि लामो दूरीका सवारीसाधन चलाउन नदिएकाले यसलाई एक किसिमको बन्दाबन्दी नै मानेर आवतजावत बन्द गर्नुपर्ने उनको भनाइ छ। एक जिल्लाबाट अर्को जिल्लामा जान निषेध गर्नुभनेको संक्रमण फैलन नदिनु भएकाले त्यसमा ध्यान दिन पनि उनले आग्रह गरे।
उपत्यकामा अहिले पनि समुदायस्तरमा धेरै संक्रमण नदेखिएकाले यसलाई अहिले नै नियन्त्रण गर्नुपर्नेमा शाक्यले जोड दिए।
मेयर शाक्यले महानगरपालिकाले भनेको निर्णय नागरिकले नमानेर लुकिछिपी आउने प्रवृत्तिले संक्रमणको अहिलेको स्थिति देखा परेको बताए। "हामीले भनेको निर्णय मानिदिएको भए काठमाडौं उपत्यकामा कुनै पनि संक्रमण देखिनेवाला थिएन। हाम्रो कुरा सरकारले मानिदियो जाे हामीले सरकारसँग अनुरोध गरेका थियौं। नाकामा कडाइ गर्न भन्यौं गृह मन्त्रालयले त्यही अनुसार परिपत्र जारी गरेको छ। तर यहाँ लुकिछिपी आउने प्रवृत्ति रह्यो," उनले भने।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न मठमन्दिर, बिहार, धर्मशालाका गतिविधिहरु बन्द गराइएको तर सरकारलाई दबाब दिने नाउँमा हुने जुुलुस र नाराबाजीका कारण जोखिम बढेको बताए। उनले सरकारको समर्थन र विरोध गर्ने गतिविधि नगर्न समेत आग्रह गरे।
"कोरोनाको जोखिम भएसम्म मठमन्दिरहरु बन्द गरेका छौं। धर्मशालाहरु बन्द गरेका छौं। विहारहरु बन्द गरेका छौं। मन्दिरहरुमा अहिले हामीले भेटघाट गर्न दिएका छैनौं। त्यो सँगसँगै विभिन्न ठाउँमा हुने गतिविधि पनि रोक्नुपर्छ। यहाँको नाराजुलुस गर्ने पनि रोक्नुपर्छ। यहाँ काठमाडौंमा अनशन बस्ने अरु विभिन्न गतिविधि गर्ने सरकारको समर्थनमा होस वा सरकारको विरोधमा होस त्यो सबै गतिविधि रोक्नुपर्छ," उनले भने।
सरकारले काम नै गर्न सकेन भन्ने आरोप लगाउने भन्दा पनि सरकारले बनाएका मापदण्ड र नियमहरुलाई पालन गर्न आग्रह उनले गरे। मापदण्ड र नियमलाई पालना नगरे आगामी दिनमा भयावह स्थिति आउन सक्ने र स्थिति नियन्त्रण बाहिर जानसक्ने शाक्यले बताए।
संक्रमण देखिएका ठाउँलाई मात्रै सिल गर्ने कुरा पनि संक्रमण रोकथामको उपयुक्त उपाय नभएको शाक्यको भनाइ छ। कन्ट्रयाक्ट ट्रेसिङका लागि सहज बनाउन मात्र सिल गर्ने भएकाले यो क्षणिक हुने उनको भनाइ छ।