ब्राजिलमा कोरोनाबाट मृत्यु: साओ पाउलोको विमान दुर्घटनाको क्षतिभन्दा ५०० गुणा बढी
विश्वमा कोरोनाभाइरसबाट सबैभन्दा प्रभावित मुलुकहरुमध्ये दोस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमणबाट पहिलो मृत्यु १२ मार्चमा भएको थियो। ९ मेसम्ममा कोरोना संक्रमणबाट त्यहाँ १० हजारको मृत्यु भइसकेको थियो।
महामारीको प्रभाव बढ्दै जाँदा यसको एक महीनापछि संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५० हजार नाघेको थियो। पहिलो मृत्युदेखि एक लाख मृत्युसम्म पुग्न ब्राजिलमा १ सय ६४ दिन लागेको थियो।
सोमबारसम्ममा त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या सोमबार बिहानसम्म १ लाख १ हजार १ सय ३६ पुगिसकेको छ।
सन् २००७ मा ब्राजिलको साओ पाउलोमा भएको विमान दुर्घटनामा १ सय ९९ जनाको मृत्यु भएको थियो। मानवीय क्षतिको हिसाबले यो ब्राजिलको सबैभन्दा घातक दुर्घटना थियो। उक्त दुर्घटनालाई कोरोना महामारीसँग तुलना गर्दा २६ फेब्रुअरीपछि यस्तो घटना ५ सय ५ पटक दोहोरिइसकेको छ। ब्राजिलमा पहिलो पटक कोरोना संक्रमण २६ फेब्रुअरीमा पुष्टि भएको थियो।
बितेको पाँच महीनादेखि दैनिक उक्त विमान दुर्घटनामा मारिएका व्यक्तिभन्दा तीन गुणा मानिस कोरोना संक्रमणबाट मरिरहेका छन्।
ब्राजिलका कतिपय शहरको जनसंख्या एक लाखभन्दा कम छन्। त्यस आधारमा हेर्दा कैयौं शहरको कुल जनसंख्याभन्दा बढी मानिसले यो महामारीका कारण ज्यान गुमाइसकेका छन्।
अमेरिकापछि संसारमा ब्राजिल मात्र एक देश हो, जहाँ कोरोनाबाट एक लाखभन्दा बढीको मृत्यु भएको छ। अमेरिकामा संक्रमणबाट ज्यान गुमाउनेको संख्या सोमबार बिहानसम्म १ लाख ६५ हजार ६ सय १७ पुगेको छ।
ब्राजिलमा हालसम्म कुल संक्रमितको संख्या ३० लाख ३५ हजार ५ सय ८२ पुगेको छ। जसमध्ये २१ लाख १८ हजार ४ सय ६० संक्रमणमुक्त भइसकेका छन् भने अब सक्रिय संक्रमित ८ लाख १५ हजार ९ सय ८६ उपचाररत छन्। तीमध्ये ८ हजार ३ सय १८ जनाको स्वास्थ्य अवस्था जटिल छ।